राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । 

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन् । समारोहमा आयोगका सदस्यहरु तथा सदस्य सचिव केवलप्रसाद भण्डारीको उपस्थिति थियो । 

Advertisement

महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । ढुंगाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । यूनडिपीमा समेत काम गरेको अनुभव भएको ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छिन् । 

९ माघ २०७९ आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । तत्कालिन माओवादी–एमालेसहितको गठबन्धन भत्किएर माओवादी–कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई पर्यो । गठबन्धन परिवर्तन पछि केही नयाँ सदस्यहरु नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन । 

यसअघि आयोगको सदस्यहरु डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छिन् ।

यसअघि नियुक्त भएका सदस्यहरु मध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदुरपश्चिम प्रदेशको जिम्बेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ । 

यसैगरी डा. बुढाथोकीलाई उर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा. विच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्बेवारी दिइएको छ भने डा. पौडेललाई क्षिा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । 

उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरुको समन्वय रहेको छ । 
 

Advertisement

Advertisement