नासु रामकृष्ण श्रेष्ठले अहिले मात्रै होइन्, धेरै बर्षदेखि करका दर ‘इन्ट्री’ गर्दै आएका छन्ः महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणका क्रममा करका दर इन्ट्री गर्ने काम पूर्वनायव सुब्बा रामकृष्ण श्रेष्ठले गर्दै आएको बताएका छन् । 

संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मंगलबार उनले करका दर परिवर्तन गर्ने क्रममा बाहिरका मान्छेको संलग्नता नरहेको बताए । प्रमुख प्रतिपक्षी एमाले सहितका दलहरूले करका दर परिवर्तन र निर्धारण गर्ने क्रममा श्रेष्ठलाई अनधिकृतरुपमा प्रवेश गराइएको भन्दै यसको संसदीय छानविन हुनुपर्ने बताएका थिए । 

Advertisement

महतले पूर्वनासु रामकृष्ण श्रेष्ठलाई आफूभन्दा अगाडिकै अर्थमन्त्रीले नियुक्त गरेको बताउँदै भने, ‘अनुभवि, दक्ष, इमानदार भनेर परिचित व्यक्तित्व हुनुहुँदो रहेछ । उहाँको काम भनेको सम्बन्धित अधिकारीले आधिकारीक रूपमा निर्णय भएको करका दरदेखि लिएर संशोधन आदि इत्यादि जे छ, निर्णय प्रक्रियामा बसेका पदाधिकारीको आदेशमा भनेर भर्नको लागि उहाँ वर्षौंदेखि लगायतार गर्दै आउनुभएको रहेछ । त्यसै प्रयोजनको लागि मभन्दा अगाडिको अर्थमन्त्रीले नियुक्ति गर्नुभएको रहेछ ।’

प्रकाशशरण महतभन्दा अगाडि अर्थमन्त्री एमालेका विष्णु पौडेल थिए । 

बजेट निर्माणका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलबार उले गोप्य कोठामा आधिकारिक व्यक्तिहरूमात्रै बसेर करको दायरा के गर्ने, संशोधन गर्ने, हटाउने, बढाउने, यथावत राख्ने विषयको निर्णय गरेका छौं भन्दै यसअघि नै निर्णय गरेर नियुक्त गरेर राखेका कर्मचारीलाई बजेट निर्माणका क्रममा संलग्न गराइएको बताए । 

महतले नियमितरूपमा कार्यरत र अर्थ मन्त्रालयले पहिलेदेखि नै नियुक्ति गरेर राखेका अनुभवी र दक्ष कर्मचारीलाई इन्ट्री गराउनका लागि काममा लगाइएको पनि बताए । श्रेष्ठले पहिले पनि सोही काम गर्दै आएको र भन्सारको एचएस कोडको पनि जानकारी भएका आधारमा उनलाई पहिलेकै निर्णयअनुसार इन्ट्री गर्न संलग्न गराउने गरेको बताउँदै मन्त्री महतले निर्णय प्रक्रियामा श्रेष्ठको कुनै संलग्नता नरहेको बताए । 

Advertisement

Advertisement