गाँजा खेती खुल्ला गर्न अध्ययन गर्ने सरकारको निर्णय केपी ओलीलाई टाउको दुखाई

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको टिप्पणी गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने जिकिर गरे । ओलीले बहुमत भएकाले संसदबाट बजेट पारित भए पनि त्यसले कुनै परिणाम नदिने दावी समेत गरे । 

Advertisement

सरकार यथास्थितिवाद र पश्चागमनको मार्गमा रहेको भन्दै उनले कुनै पनि काम गर्ने उत्साह र जाँगर नभएको दोहोर्याए । ओलीले भने, ‘यो सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाएको छ । मुलुकको अर्थतन्त्रको नेतृत्व यो सरकारले गर्न सक्दैन । सक्छ भनेर बहस गर्नु होला । सक्छ भनेर पास गर्नु होला । अर्को वर्षमा परिणाममा हेर्नुहोला । उत्साह, जाँगर र दृढ निश्चय सरकारसँग छैन भन्ने अव छर्लङ्ग भईसकेको छ । सरकार यथार्थपरक होईन यथास्थितिवाद, अग्रगमन होइन, पश्चागमनको मार्गमा छ । नेपाललाई विकसित देशमा रुपान्तरण गर्न, नेपालीलाई सम्पन्न र उच्च जीवन स्तरमा पुर्याउन नसक्ने आफैं स्वीकार गरेको बजेटले नेपाली अर्थतन्त्रको सामथ्र्यको अवमूल्यन गरेको छ ।’

अध्यक्ष ओलीले नेपाललाई विकसित देशमा रुपान्तरण गर्ने र नेपाली जनतालाई सम्पन्न बनाउन नसक्ने कुरा बजेटमार्फत नै सरकारले स्वीकार गरेको बताए । उनले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणाप्रति प्रश्न उठाउँदै भने, ‘कसले गर्न खोजिराख्या छ यो गाँजा खेती ? यो कसका लागि गाँजा खेती ? अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ?’

बहुमूल्य जडिबुटीको रुपमा रहेको र विश्वका धेरै मुलुकले औषधि र अन्य प्रयोजनका लागि प्रयोग गर्दै आएको गाँजा नेपालमा भने पश्चिमाहरुको नियोजित दबाबमा प्रतिबन्धित गरिएको भन्दै यसलाई खुल्ला गर्नुपर्ने माग भइरहेको बेला ओलीलाई भने यसको व्यवसायिक प्रयोगका लागि अध्ययन गर्ने बजेटको व्यवस्थाप्रति ओलीलाई टाउको दुखाईको विषय बनेको हो । 

गाँजा खेतीको पछाडि व्यक्तिहरु रहेको र उनीहरुले वैधानिकता खोजिरहेको उनको तर्क छ । ओलीले कतिपय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गाँजा खेती हुँदा कतिपयको जीविकोपार्जन हुने भन्ने लागेको हुनसक्ने उल्लेख गर्दै नियन्त्रित गाँजा खेतीको विषय भएको बताए ।

तर सरकारको रेखदेखमा गाँजा खेती गर्ने विषय अनौठो रहेको उनले बताए । ओलीले भने, ‘गाँजाको बीउ लिएर बसेको व्यापारी को हो ?’ उनको प्रश्न छ । जनताका विषय भन्दा पर यो विषय रहेको उनको जिकिर छ । 

Advertisement

Advertisement