भारत भ्रमणबाट आउँदा मलाई भव्य स्वागत होला भन्ने सोचेको थिए, भएन्ः प्रम दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन् । 

हुन बाँकी सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकी विरोध गर्ने तरिका उचित नभएको उनको तर्क छ । बुधबार राष्ट्रियसभामा दाहालले आफूले भारतसँग गरेका सहमतीका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गरे । 

Advertisement

उनले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्याए । बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरुले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरुसँगको कुराकानी गरेको दाहालको स्पष्टीकरण थियो । 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालको लागि ठूलो कुरा भएको बताए । उनले आफूले भारत भ्रमणको क्रममा मुलुकको समृद्धिका लागि नयाँ ढोका खोलेको दावी समेत गरे । दाहालले भने, ‘अब माननीय सदस्यहरुले फेरि अर्को कुरा पनि राख्नु भयो । यो सट्टापट्टावाला कुरा के भएको हो ? तपाईंले त जमिन नै दिएर आउनु भएछ भनेको जस्तो गरेर । पहिलो कुरा, म के भन्न चाहान्छु भने मैले औंपचारिक कुनै पनि बैठकमा जमिन सट्टापट्टाबारे कुरै गरेको छैन् । र, गरेकै होइन । खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । त्यो समस्या छिटोभन्दा छिटो वार्ता, संवादद्वारा हल गर्नु पर्छ भन्नेकुरा मात्रै भनेको हो ।’ 

उनले थपे, ‘मैले नेपाली पत्रकारहरुसँग कुरा गर्दा यो विषयमा धेरै खालको विचारहरु पनि छन । नेपालकै कतिपय बुद्धिजीविहरुले हामीले यदि बंगलादेशको मोडेल अध्ययन गरेर त्यसलाई पनि लिनुपर्छ या बंगलादेश जाने बाटो हामीले पाउने हो भने समस्याको त्यो पनि समाधान हुन सक्छ भनेर भनेका छन भन्ने सन्दर्भमा मैले यो कुरा बोलेको हो । त्यो भारत सरकारसँग प्रस्ताव राखेको या भारतसँग कुरा भएको होइन । माननीय सदस्यहरुलाई प्रष्ट होस् । मैले त यो विकल्पबारे नेपालको एउटा, दुईटा बुद्धिजीविले मात्रै होइन् नेपालमा धेरै पटक सीमा सम्बन्धि समस्या समाधानको बारेमा सरकारले नै समय समयमा अध्ययन गराउने गरेको छ ।’ 

प्रधानमन्त्री दाहालले २०७२ र २०७७ मा यस विषयमा अध्ययन भएको बताउँदै त्यो अध्ययन गरेका बुद्धिजीविहरु, विशेषज्ञहरुले समस्या जटिल भयो भने हामीले सट्टापट्टा पनि गर्न सकिन्छ भनेर उहिल्यैदेखि भनेको भेटिन्छ भन्दै यो आफूले आविष्कार गरेको विषय होइन् भने । उनले सट्टापट्टाको कुरालाई अतिरञ्जित ढंगले उठाएर भारतसँगको राम्रो सम्बन्धमा दरार पैदा गर्न नहुने बताए । 

दाहालले भने, ‘सीमा सम्बन्धी समस्या हल गरिन्छ भन्ने कुरा हामीले त भनेकै कुरा हो । भारतीय प्रधानमन्त्रीले पनि पहिलो चोटी भन्ने परिस्थिति सिर्जना गरियो । त्यसमा तपाईं हामी सबैले गर्व गर्नु पर्दछ । मलाई त लागेको थियो अघि मैले जुन पढेँ । यहाँहरुको बीचमा राखे, भारत भ्रमणको उपलब्धिबारे, देशले सिंगै के सत्तापक्ष, के प्रतिपक्ष, नागरिक समाज सबैले नै मलाई बधाई दिन्छन भनेर सोचेरै आएको थिए म । स्वागत हुन्छ भव्य भन्ने लागेको थियो । किनभने नेपालको इतिहासमा केही युगान्तकारी काम भएका छन् ।’ 

नेपालको इतिहासमा पहिलो पटक सीमा सम्बन्धी समस्या हामी हल गर्छौं भनेर दुवै जना प्रधानमन्त्रीले दुनियाँको अगाडि उभिएर प्रतिवद्धता जनाउनु सानो उपलब्धी होइन भन्दै दाहालले नेपाल र भारतले राम्रो विश्वासको वातावरण बनाएर मात्रै लिपुलेक, कालापानीको पनि समस्या हल हुने बताए । 

एकले अर्कालाई राजनीति मात्रै गरिराखेर यो बल्झिने र कचिङ्ग हुने मात्रै हो भन्दै उनले प्रधानमन्त्रीले विश्वासको वातावरण बनाएर सीमाको समस्या हल गर्छौ भन्ने ठाउँसम्म भारत पनि सहमत भएर आएको कुरा अरु कसैले गर्यो र ? भनी प्रश्न गरे । 

प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा खर्बौंको लगानी भित्राउने गरी सहमती गरेको जिकीर समेत गरे । 

Advertisement

Advertisement