पुँजीबजारमा सुशासन कायम गर्दै विश्वसनीय बनाउन ऐतिहासिक काम भएको छः हमाल

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले एक वर्षको आफ्नो कार्यअवधिमा धेरै काम भए पनि अझै सन्तोषजनक काम भने हुन नसकेको बताएका छन् । 

बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा उनले यस बीचमा धेरै काम भएको र भोलिका लागि समेत अन्य महत्वपूर्ण कामको खाँका तयार रहेको बताए । बोर्डको सेवालाई ‘पेपरलेस’ (कागजरहीत)  बनाउँदै छिटो छरिटो र विश्वसनीय काम गराउन आफू लागिपरेको हमालले बताए । 

Advertisement

वैदेशिक रोजगारीमा गएकाहरुको लागि १० प्रतिशत आरक्षणको नीतिले उनीहरुहरुलाई शेयर बजारमा आकर्षण बढेको र रेमिटान्स आयमा पनि वृद्धि भएको उदाहरण दिँदै उनले यस निर्णयबाट एक लाख ५० हजार वैदेशिक रोजगार श्रमिक लाभान्वित बनेको बताए । 

पछिल्लो समय पुँजी बजारमा सुशासनको क्षेत्रमा केही उल्लेखनीय प्रगती भएको हमालको दावी छ । उनले भने, ‘हामीले त्यसमा अझै दृढ विश्वासका साथ काम गर्न जरुरी छ । एउटा राम्रो नीतिले पनि बजारमा ठूलो प्रभाव ल्याउँदो रहेछ । लगानीकर्ताहरुले गरेको लगानीको प्रतिफललाई प्राथमिकता दिने कुराहरु पनि छन् ।’

सुशासन मात्रै कायम गर्न सकियो भने पनि ग्राहकहरुले पाउने सेवामा वृद्धि हुने र लगानीकर्ताहरुको लागतमा समेत कमी हुने अवस्था सिर्जना हुने रहेछ भन्दै उनले सि–आस्वाको निर्णयले हजारौं लगानीकर्ता लाभान्वित भएको उदाहरण दिए । 

अध्यक्ष हमालले लगानीकर्ताहरुको हितलाई मध्यनजर गर्दै ५० बाट ६८ वटा स्टक ब्रोकरको संख्या पुर्याएको बताए । अब दुई महिनाभित्रै ९३ पुग्ने उनले जानकारी दिए । हमालले भने, ‘यो दशौं वर्षको प्रयासपछि मात्रै सफल भएको कुरा हो । यसमा विगतको जस्तो निवेदकले मात्रै नभई नियामकले पनि महत्व बुझेकाले नै यो सम्भव भएको हो ।’

बोर्डको सुधार प्रयासले ५६ लाखभन्दा बढी लगानीकर्ता लाभान्वित हुने अवस्था बनेको उनले बताए । हमालले भने, ‘यसमा हाम्रो नीति भनेकै लगानीकर्ताको सेवालाई प्राथमिकतामा राख्ने र ब्रोकरहरुलाई थप सशक्त बनाउने हो ।’ 

आगामी दिनमा दोस्रो बजारमा समेत गैरआवासीय नेपालीको संख्या बढाउने योजना ल्याउने उनले बताए । हमालले बोर्डमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा वृद्धिका लागि पनि ध्यान दिने बताए । 

अध्यक्ष हमालले प्राईभेट इक्विईटी र भेन्टर क्यापिटलको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा सहयोग गर्ने, अर्थतन्त्रको विविधिकरणमा एउटा तहको बाटो खोल्ने, उद्यमशीलतकाको बाटो खाल्ने योजनाहरु सुनाउँदै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा एसएमई प्ल्याटफर्म निर्माण गर्नका लागि बोर्डले मन्त्रिपरिषदमा प्रस्ताव गरेको बताए । 

ग्राहकहरुको गुनासा सुन्न बोर्डमा उच्चस्तरीय समिति पनि बनेको उनले जानकारी दिए । यसले ग्राहकहरुका गुनासालाई छिटो छरितो सम्बोधन गर्ने बताए । धितोपत्र बोर्डको इतिहासमा ‘इन्साइडर ट्रेडिङ’का दुई वटा मुद्दा दर्ता गरेको बताउँदै हमालले यस्ता कुराहरुको पनि छानविन र कारवाही अब अघि बढ्ने बताए । 
 
साधारण शेयर (आईपीओ) निष्काशन गर्न पनि कम्पनीहरुले लामो समय कुर्नुपर्ने बाध्यतालाई घटाएर अब ४५ दिनमा आईपीओ निष्काशन गर्न सकिने बनाउँदै छौं भन्दै हमालले पुँजीबाजरप्रतिको विश्वासनीयता कायम गर्ने र बजारमा लगानीको सुनिश्चितता छ भन्ने आभाष दिलाउन प्रयास भइरहेको बताए । 

Advertisement

Advertisement