निजी क्षेत्रले बजेटको आलोचना गरिरहेको बेला दाहाल भन्छन्– व्यवसायीलाई राहत दिन्छ

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् । 

बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटनका क्रममा उनले महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरुका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा समेटेको दावी गरे । 

Advertisement

निजी क्षेत्रले भने बजेट लगानीमैत्री नरहेको र राजश्व बढी अशुल्न मात्रै लक्षित रहेको भन्दै आलोचना गर्दै आएको छ । प्रधानमन्त्री दाहालले भने ठिक विपरित निजी क्षेत्रलाई राहत दिने बजेट ल्याएको जिकिर गरेका हुन् । 

उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको पनि बताए । दाहालले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रवन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध मिलाउने सरकारको लक्ष्य रहेको बताए । 

दाहालले अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो मद्दत पुग्ने दावी गरे । 

उनले भने, ‘कोरोना महामारीका कारण भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एक पटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ । महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरुका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेट्ने प्रयास गरेको छ । सरकारले यसअघि पनि आर्थिक प्याकेजका कार्यक्रम ल्याएर देशको निजी क्षेत्रलाई कुनै न कुनै रुपमा राहतको घोषणा गरेको थियो ।’

दाहालले थपे, ‘वर्तमान सरकार निजी क्षेत्रको साथमा छ । सहकार्य गरेर अघि बढ्न चाहन्छ । पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रवन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध गरिएको छ । अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई शंकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको छ । यसले अर्थतन्त्रमा ठूलो मद्दत पुग्नेछ ।’

आफ्नो भारत भ्रमणपछि नेपालमा जलविद्युतको क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताए । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गरे । 

Advertisement

Advertisement