चार लघुवित्त वित्तीय संस्थाको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न चारवटा लघुवित्त वित्तीय संस्थाको मर्जरलाई स्वीकृति प्रदान गरेको छ । 

यसैक्रममा साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकले बुधबार स्वीकृति प्रदान गरेको हो । 

Advertisement

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त घ वर्गको लघुवित्त संस्था साना किसान विकास लघुवित्तको केन्द्रीय कार्यालय बबरमहलमा रहेको छ भने आरएमडीसीको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा रहेको छ । साना किसानले आरएमडीसीलाई १ः०.८७ शेयर स्वाप रेसियोमा प्राप्ति गर्ने सहमति यसअघि नै भइरहेको छ । 

आरएमडीसीको चुक्ता पूँजी १ अर्ब ५६ करोड ३७ लाख रुपियाँ छ भने साना किसान विकास लघुवित्तको चुक्ता पूँजी १ अर्ब ९७ करोड ११ लाख रुपियाँ छ । 

त्यसैगरी आशा लघुवित्तले राष्ट्रउत्थान लघुवित्तलाई गर्ने प्राप्ति (एक्विजिशन) लाई मंगलबार स्वीकृति प्रदान गरेको हो । 

नुवाकोट ककनी केन्द्रीय कार्यालय रहेको आशा लघुवित्तले काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा दुई संस्थाबीच यसअघि नै समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

आशा लघुवित्तको हाल कायम चुक्ता पूँजी ३८ करोड १६ लाख छ भने राष्ट्र उत्थानको चूक्ता पूँजी २६ करोड रुपियाँ छ ।  

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै यी लघुवित्त संस्थाहरुलाई एकीकृत कारोबारका लागि बाटो खुलेको छ । 
 

Advertisement

Advertisement