जलेर नष्ट भएको खरीद बिक्री खाता नदेखाएको भन्दै बीमा दावी भुक्तानी दिन अस्वीकार

Advertisement

काठमाडौं । एक बीमितले विभिन्न बहाना बनाएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले आफ्नो बीमा दावी भुक्तानी दिन आनाकानी गरेको गुनासो गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा बीमित कमल कर्माचार्य र उनकी श्रीमती रेखा कर्माचार्यको झापा विर्तामोडस्थित दुई वटा पसलमा भएको आगलागीको बीमा दावी भुक्तानी दिन आनाकानी गरेका हुन् । 

Advertisement

आगलागीमा कमल स्टोर र रेखा स्टोरका सबै सामानसहित पसल सञ्चालनसम्वन्धी कागजाज पनि जलेको तर कम्पनीहरुले बीमा दावी भुक्तानीका लागि खरीद बिक्री हिसाव देखाउनुपर्ने शर्त राख्दै आएको कमल कर्माचार्यको भनाई छ । 

दुई वटै पसलको गरेर उनले एक करोड २७ लाख रुपियाँ बराबरको दाबी भुक्तानी दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले आनाकानी गरेको बताए । दावी भुक्तानी माग गर्दा एनएलजीले इमेल पठाएर भुक्तानी दिन नसक्ने बताएको कर्माचार्यले बताए । 

एनएलजीले आफूले भुक्तानी दिन नसक्ने भन्दै नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न जाउ भनेर गैरजिम्मेवार जवाफ दिएको बताए । दुवै कम्पनीले अनावश्यक दुःख दिएकाले बाध्य भएर मिडियामा आउनु परेको बताउँदै कर्माचार्यले दावी भुक्तानीका क्रममा आफूले हैरानी खेप्नुपरेको बताए । 

‘रेखा स्टोर’को बीमा एनएलजी इन्स्योरेन्सको कर्पोरेट अफिस लाजिम्पाटमा र ‘कमल स्टोर’को बीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कर्पोरेट अफिस अनामनगरमा बीमा गरेको उनले सुनाए । दुवै पसलमा आगलागी भएको सबै नष्ट भएको प्रहरीले समेत हेरेर मुचुल्का बनाएको, कम्पनीका सर्भेयरले समेत त्यसको मूल्यांकन गरेर गए पनि कम्पनीले भने खरीद बिक्री खाता नदेखाएको बहानामा भुक्तानी दिन आनाकानी गरेको कर्माचार्यले बताए । 

गएको आईतबार बीमितले एनएलजी इन्स्योरेन्समा आफ्नो दाबी भुक्तानी माग गरेका थिए । सोही दिन साढे ४ बजे कम्पनीले ईमेलमार्फत दाबी भुक्तानी गर्न नसक्ने जवाफ दिएको हो । सिद्धार्थ प्रिमयरले भने अहिलेसम्म त्यस्तो इमेल नपठाए पनि पैसा दिन भने आनाकानी गरिरहेको बताए । 

सिद्धार्थ प्रिमियरले आफ्नो ईमेल मागे पनि आफूले नदिएको कर्माचार्यले बताए । उनले दावी भुक्तानी नपाए आफू प्राधिकरण उजुरी गर्न जाने सोचमा रहेको बताउँदै त्यसका लागि तयारी गरिरहेको बताए । 

रेखा स्टोरको ६० लाख रुपियाँ र कमल स्टोरको ६७ लाख रुपियाँ बराबरको भुक्तानी पाउन बाँकी छ । आफूले केही प्रतिशत पेनाल्टी कटाएर दावी भुक्तानी दिन आग्रह गर्दा पनि दुवै कम्पनीले बदनियतपूर्ण तरिकाले भुक्तानी नदिएको बताए ।  

यस विषयमा सोध्न फोन गर्दा सिद्धार्थ प्रिमियर र एनएलजीका सीईओले फोन उठाएनन् । 
 

Advertisement