सानिमा हाइड्रोका अध्यक्षलाई विदेशी श्रीमतीको नाममा रहेको शेयर हस्तान्तरण गर्न सहमति

Advertisement

काठमाडौं । सानिमा हाइड्रो पावर लिमिटेडका अध्यक्ष अरुणकुमार ओझाले श्रीमतीको नाममा रहेको शेयर आफ्नो नाममा पास गर्ने भएका छन् । ओझाले श्रीमतीको नाममा रहेको तीन लाख ४३ हजार ८६० कित्ता शेयर आफ्नो नाममा गर्न लागेका हुन्।

ओझाले रसियाली नागरिक ओल्गा ओझासँग विवाह गरेका छन् । ओल्गाले उक्त कम्पनीको शेयर २०६० सालमा रु १०० को दरले एक लाख कित्ता शेयर एक करोड रुपियाँमा खरिद गरेकी थिइन् । विभिन्न समयमा हकप्रद तथा बोनस शेयर पुँजीकृत हुँदै हाल तीन लाख ४३ हजार ८६० कित्ता पुगेको जनाइएको छ । 

Advertisement

लगानीकर्ता ओल्गाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ प्रारम्भ हुनुभन्दा अघि नै सानिमा हाइड्रोमा यो लगानी गरेको उल्लेख गरिएको छ । तर यो रकम लेखांकन भने गरिएको छैन् । सो शेयर श्रीमान ओझाको नाममा हस्तान्तरण गर्न मिल्ने गरी उद्योग विभागले अनुमति दिएको छ । 

विभाग स्रोतले कर्पोरेट नेपालसँग भन्यो, ‘श्रीमतीको नामको शेयर श्रीमानको नाममा ल्याउन सैद्धान्तिक सहमति दिइएको हो । महानिर्देशक बाबुराम गौतमले शेयर बिक्री गरेर विदेश लैजान नपाउने गरी सहमति दिनुभएको हो ।’

विभागका ती कर्मचारीका अनुसार ओझाले सो शेयर बिक्री गरेर विदेश लैजान पाउने छैनन् । यदि विदेश लैजानुपरेमा राष्ट्र बैंकमा लेखाङ्कन गरेर मात्रै लैजानु पर्नेछ । साथै, शेयर हस्तान्तरणमा लाग्ने कर लगायतको सम्पूर्ण रकम राज्यलाई बुझाउनु पर्ने उल्लेख छ।

यो व्यवस्था मिलाउनका लागि महानिर्देशक गौतमले औद्योगिक लगानी प्रर्वद्धन बोर्डको २३९ औं बैठकमा प्रस्ताव गरेका थिए । बोर्डले महानिर्देशक गौतमले चाहेअनुसारको निर्णय गरिसकेको स्रोतले जनाएको छ।

यस्तो छ निर्णयः
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ प्रारम्भ हुनुअघि विभागको मिति २०६०–१–२३ को पत्रबाट सानिमा हाईडेपावर लिमिटेडका विदेशी लगानीकर्ता रुसी नागरिक श्रीमती ओल्गा ओझाको नाममा रु. १०० दरको एक लाख कित्ता शेयरको रु. १,००,००,०००।०० को विदेशी लगानी स्वीकृत भई विभिन्न मितिमा हकप्रद तथा, बोनस शेयर पूँजीकृत हुँदै हाल कायम हुन आएको ३,४३,८६० कित्ता शेयर निजका श्रीमान अरुणकुमार ओझालाई हस्तान्तरण गर्न विदेशी लगानी रकमको विविध कारणले लेखांकन भई पेश हुन नसकेकोले शेयर हस्तान्तरण गर्ने कम्पनीलाई सैद्धान्तिक सहमति प्रदान गर्न नसकिएको सन्दर्भमा उक्त कूल ३,४३,८६० कित्ता शेयर​ हस्तान्तरण बापतको रकम विदेश नलैजाने स्वघोषणा गरी निवेदन दिएमा सोही शर्तमा प्रचलित कानुनबमोजिम कर लाग्ने भए सो दाखिला समेत गराई निजका श्रीमान अरुणकुमार ओझा (नेपाली नागरिक)लाई शेयर हस्तान्तरण गर्न उद्योग विभागले सैद्धान्तिक सहमति दिने । तर यस्तो रकम विदेश फिर्ता लैजानुपर्ने भएमा नेपाल राष्ट्र बैंकको नियमानुसार अनिवार्य लेखांकन हुनुपर्ने ।

Advertisement