सरकारी बेतनधारी शिक्षकहरुको विरोध प्रदर्शनका कारण राजधानी काठमाडौं अस्तव्यस्त

Advertisement

काठमाडौं । सरकारी बेतनधारी शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकावासीले सास्ती भोग्नुपरेको छ । कांग्रेस कम्युनिष्टसम्वद्ध विभिन्न दलनिकटका शिक्षकहरुले शिक्षा विधेयकमा रहेका प्रावधानहरुको विरोधमा आज विरोध प्रदर्शन गरेको हो । 

आन्दोलनका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी नाराजुलुस गर्दै संसद भवन नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । आजै संविधान दिवसका नाममा भीभीआईपीहरु टुँडिखेल जाने कार्यक्रमले पनि ट्राफिक जामलाई थप मलजल गरेको हो । 

Advertisement

मुल सडक नै अवरुद्ध गरेपछि ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको हो । सवारी साधनहरु वैकल्पिक मार्ग खोज्दै गन्तव्यतर्फ जाने प्रयास गरे पनि सो क्षेत्रमा जाम हुँदा अवस्था अस्तव्यस्त हुन पुगेको हो । ट्राफिक प्रहरीले जाम कम गर्न सवारी साधनहरुलाई वैकल्पिक मार्गतर्फ पठाउने प्रयास गरिरहेको देखिन्थ्यो । 

सरकारी शिक्षकहरुको आन्दोलनका कारण राजधानीको मुख्य र सहायक सडक र गल्लीहरुमा समेत गाडी जाम हुन पुगेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा बोलाएर विरोध प्रदर्शन गरिएको हो । यसमा प्रमुख दलहरुनिकट शिक्षकहरु आवद्ध छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका केही दलले भने यस्तो शिक्षक संगठन अहलिेसम्म बनाएका छैनन् । 

शिक्षकहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् । देश संघीय व्यवस्गा गएसँगै निजामतीदेखि शिक्षक व्यवस्थापन ठूलो चुनौति बन्दै आएको छ । 

महासंघले अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायी तथा करार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतको १७ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेको छ ।

Advertisement