काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको निर्णय पालन गर्न अटेर गरेको छ । कम्पनीले बीमितको ३५ लाख रुपियाँ बराबरको दावी भुक्तानी गर्न आनाकानी गरेको पाइएको छ ।
प्राधिकरण स्रोतका अनुसार गाडीको बीमा दावी भुक्तानीका लागि धाइरहेका बीमितलाई बिना कारण दावी भुक्तानी दिन अटेर गरेको हो । प्राधिकरणमा आउँदा भुक्तानी दिन्छु भन्ने तर कम्पनीमा गएपछि बीमितलाई पैसा दिन्न भनेर धम्क्याउने काम गर्नु गैरजिम्मेवारपन हो भन्दै प्राधिकरणका ती उच्च अधिकारीले एक दिनभित्र दावी भुक्तानी नगरे कारवाही गर्न बाध्य हुने बताए ।
उनले भने, ‘एक साताअघि आउँदा (सीईओ एसके रावल) पनि यो विषयमा कुरा भएको हो । हाम्रो अगाडि भुक्तानी रोकिन्न, केही कागजाज आउन ढिलो भएर हो भन्थे ।’ यस्ता कुराहरुले बीमाप्रति आम जनताको विश्वास कम हुँदै जाने भन्दै प्राधिकरणले स्रोतले ‘हामीसँग एउटा कुरा गर्ने, बीमितसँग अर्को व्यवहार गर्ने अब चल्दैन’ भने ।
पीडितलाई कम्पनीले थप दुःख दिनसक्ने भन्दै प्राधिकरणले बीमितको नाम दिन चाहेन । दावी भुक्तानीको ‘पेण्डिङ फाइल’ धेरै हुनेमा यूनाइटेड अजोड अग्रस्थानमा रहेको छ । मर्जरअघि युनाइटेड इन्स्योरेन्सबाट सो कम्पनीका मुख्य लगानीकर्ता चौधरी समूहले आफ्नै गोदाममा भएको विवादास्पद लागजनीवापत क्षति भएकोभन्दा निकै धेरै दावी भुक्तानी लिएकोसम्वन्धी मुद्दा अहिले पनि अदालतमा विचाराधिन छ ।
पुँजी वृद्धि गर्नुपर्ने प्राधिकरणको नीतिपछि युनाइटेडले अजोडलाई मर्ज गरेको हो । मर्जरपछि पनि कम्पनी विवादमा पर्ने क्रम जारी रहेको छ । बीमा गर्न मरिहत्ते गर्ने तर दावी भुक्तानी गर्न बिभिन्न बहाना खोज्ने प्रवृत्ति नेपालमा कतिपय बीमा कम्पनीहरुमा बढ्दै गएको छ ।
बीमितलाई रु. ३५ दावी भुक्तानी किन नगर्नुभएको ? भन्ने प्रश्नमा सीईओ रावलले विशेष कारण रहेको बताए । उनले भने, ‘कुनै दाबी भुक्तानी रोकिनुमा केही विशेष कारण हुन्छ । बीमितले पाउने रकमको सुरक्षालाई नै ध्यानमा राखेर कहिलेकाहीं ढिलाई भइहाल्छ नि ।’ रावलले भुक्तानी रोकिनुको कारण खुलाउन चाहेनन् ।
दावी भुक्तानीका लागि बीमितले पटक पटक कम्पनीदेखि प्राधिकरणसम्म धाउँदै आएका छन् । बीमितले धेरै सास्ती पाएपछि प्राधिकरणले नै यस विषयमा चासो राखेको हो । कम्पनीले बीमा ऐन, २०७९ को दफा १३ (च) अनुसार मेलमिलाप र मध्यस्तता भएपछि तत्कालै भुक्तानी दिनुपर्नेमा नदिएकाले ुनाइटेड अजोडलाई कारवाही हुने स्रोतको भनाई छ ।