नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको छः अध्यक्ष ढकाल

Advertisement

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । 

हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग–अलग समस्या उत्पन्न भइरहेका र यसका कारण बहुआयामिक चुनौतीहरू देखापरेकाले ती समस्याको समाधान गर्न एसियाली क्षेत्रमा सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिएका हुन् । 

Advertisement

जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्वबिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरू दोहोर्याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबीचको सहकार्य र समन्वयबाट मात्र यी चुनौतीको सामना गर्न सकिने बताए । 

ढकालले द्रुत ‘डिजिटलाइजेसन’ र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ पनि ध्यानाकर्षण गराएका थिए । उनले सम्भावित असमानताहरूलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । 
 
ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक संवादको सुदृढीकरणमा नेपाल प्रतिबद्ध रहेकोसमेत बताए । 

नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदीयमान मुलुक चीन र भारतको बीचमा रहेकाले नेपालमा बजारको ठूलो सम्भावना रहेको पनि बताए । उनले नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । 

Advertisement

Advertisement