अर्थमन्त्रीले फेरि भने– अर्थतन्त्रका सूचक सकारात्मक छन्, लगानी बढ्दैछ

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दावी गरेका छन् । सोमवार काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा लगानी बढ्दै गइरहेको पुनः दावी पनि गरे । 

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने बताउँदै महतले विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधि बिस्तारै बढ्दै जाने बताए । उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने बताए । 

Advertisement

महतले भने ‘लगानी बिस्तारै बढ्दैछ । जग्गा कारोबार बिस्तारै बढ्दैछ । आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन् यो जनवरीसम्मको कुरा गर्ने हो भने । मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन् । त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ । आर्थिक गतिविधिहरु बिस्तारै बढ्दैछन् । जहाँ निश्चित ठाउँ भन्दा बाहिर लगानी भए, त्यसले गर्दा उनीहरुलाई ऋण तिर्न गाह्रो भएको छ । नत्र भने सबै सकारात्मकतातिर अर्थतन्त्रका इण्डिकेटर गएका छन् ।’ 

उनले थपे, ‘ऋण लिनेहरुले जिम्मेवारीपूर्वक ऋण प्रवाह ऋण जसरी सीमाभित्र रहेर गर्नुपर्दथ्यो, त्यो बेला सरकारले पनि नगरेको र लिनेले जिम्मेवारी नलिँदा यो सावाँ ब्याज तिर्न गाह्रो भइरहेको छ । त्यसलाई सहज गर्न लागिरहेका छौँ । सरकारी खर्च व्यवस्थित गरिरहेका छौँ । आर्थिक सूचक सकारात्मक छन्् । अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरुसँग थप सुझाव सल्लाह लिनेछौँ ।’ 

Advertisement