नागढुंगा सुरुङमार्गको ‘फिनिसिङ’को काम सुरु

Advertisement

काठमाडौं । जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाको सहुलियतपूर्ण ऋण तथा प्रविधिमा निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अर्थात् ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ७४.३६१ प्रतिशत पुगेको छ । 

नागढुंगा टनेल कन्स्ट्रक्सन प्रोजेक्ट कार्यालयले आइतबार सार्वजनिक गरेको प्रगति विवरणले यस्तो देखाएको हो । परियोजनाको वित्तीय प्रगति भने ६९.३१ प्रतिशत पुगेको प्रगति प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

परियोजनाअन्तर्गत रेस्क्यु र मुख्य गरेर दुई सुरुङमार्ग छ् । त्यसमा दुई हजार ५५७ मिटर लामो रेस्क्यु टनेल साउन २२ गते र दुई हजार ६८८ मिटर लामो मुख्य टनेल बैशाख ३ गते ब्रेक थ्रू भइसकेको छ । 

हाल सुरुङको फिनिसिङ, फ्लाईओभर लगायतका संरचना बनाउने काम भइरहेको छ ।प्रतिवेदनअनुसार  दुई सुरुङको ब्रेक थ्रु सहित क्रस प्यासेज, वर्किङ अडिटको काम पनि सकिएको छ । अब फिनिसिङको काम बाँकी रहेको आयोजना कार्यालयका अधिकारीहरु बताउँछन् । 

११ संरचना तयार 
नागढुंगा सुरुङमार्ग अन्तरगतको १२ मध्ये ११ संरचना तयार भएको छ । तीनवटा अन्डरपास र चारवटा बक्स कल्भर्ट (माथि गाडी, तल पानी बग्ने संरचना) को निर्माण सम्पन्न भएको छ । यसबाहेक आयोजना अन्तर्गत हुने एउटा अन्डरपास, तीनवटा पुलको पनि निर्माण सम्पन्न भइसकेको छ । आयोजनामा बन्ने फ्लाइओभर भने निर्माणको चरणमा रहेको छ । 

सरकारले झण्डै २३ अर्ब लगानीमा बन्न लागेको परियाजना नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हो । यसमा जापान सहयोग नियोग (जाइका) को १६ अर्ब ६३ करोड रुपियाँ सहुलियत ऋण छ । यो आयोजना बनाउन २०१९ सेप्टेम्बरमा जापानकै निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेशनबीच सुरुङ निर्माणको ठेक्का सम्झौता भएको थियो ।  आयोजनाको निर्माण कार्य भने २०७७ पुसबाट सुरु भएको थियो । त्यसको साढे ३ बर्षमा आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रू भएको छ । अब एक बर्षमा परियोजना सञ्चालनमा ल्याउने तयारी छ । 

एक बर्षभित्र सञ्चालनमा 
आयोजनाले सुरुङमार्ग सञ्चालनमा आउन अझै एक बर्ष समय लाग्नेछ । ब्रेक थ्रु पछि अहिले सडक कालोपत्रे गर्ने, भित्ता ढलान गर्न, अक्सिजनको मात्रा मिलाउने, लाइट जडान गर्ने, तापक्रम मिलाउने लगायतका फिनिसिङको काम गर्न सुरु गरिएको छ । सम्पूर्ण काम सकिएपछि सुरुङमार्गलाई स्टेबल बनाउन ६ महिना यत्तिकै राख्नुपर्छ । त्यसपछि बल्ल सुरुङमार्ग सञ्चालनमा ल्याउन सकिने छ । त्योअनुसार २०८२ को सुरुवातबाटै आयोजना सञ्चालनमा आउनेछ । यो आयोजना बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीको यात्रा छोटिने छ ।

Advertisement

Advertisement