प्रकाशशरण महतले आलु प्याजमा लगाएको कर बर्षमान पुनले हटाए

Advertisement

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेका छन् ।

आयातलाई निरुत्साहित गर्न भन्दै गत बर्ष तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले आयात भएका यस्ता वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका थिए । 

Advertisement

मंगलबार संसदमा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै पुनले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास लिएको बताए । 

भ्याट छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेको बताउँदै उनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरेका छन् ।  

भ्याटमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी ३० लाख पुर्याएको छ । आयकर प्रयोजनका लागि भौतिक उपस्थिति नभएको तर आर्थिक उपस्थितिलाई समेट्ने गरी बासिन्दाको परिभाषामा परिमार्जन गरिएको छ । 

यसबाट अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगबाट हुन सक्ने  कराधारको क्षयीकरण रोक्ने आधार तयार हुने अर्थमन्त्रीको विश्वास छ । उनले कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाएको बताए ।

गैरकरको दरमा समयसापेक्ष वृद्धि गरिने भन्दै पुनले गैर कर राजस्वलाई लागत प्रभावी बनाइने बताए ।

Advertisement

Advertisement