बैंककमा नेपाली राजदूतावासले गर्यो निर्यात प्रवर्द्धन कार्यक्रम

Advertisement

काठमाडौँ । थाइल्याण्डको राजधानी बैङ्ककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी  प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ । 

बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्याण्डका  जडीबुटी उत्पादक, प्रशोधन तथा निर्यातक, जैविक कृषि उत्पादक, कृषि तथा खाद्य प्रशोधन कम्पनी, थाइल्याण्डमा रहेर व्यवसाय गर्दै आएका नेपाली मूलका थाइ नागरिक, गैरआवासीय नेपाली सङ्घ, थाइ नेपाली सङ्घ, नेपाल वायुसेवा निगमका प्रतिनिध एवं स्थानीय सञ्चारकर्मीको सहभागिता थियो ।

Advertisement

उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले जडीबुटी तथा कृषि प्रशोधनलगायत क्षेत्रमा लगानी र प्रविधिका माध्यमबाट नेपाल र थाइल्याण्डबीच उत्पादन शृङ्खलाको विकास र संयुक्त बजार विस्तारमा ठूलो सम्भावना रहेको बताए । उक्त दूतावासका अनुसार राजदूत वलीले प्राप्त अवसरलाई कार्यस्तरमा विकास गर्न दुई देशका व्यवसायीहरूबीच निरन्तर छलफल आवश्यक भएकामा जोड दिए । 

साथै उनले लगानी प्रवर्द्धनका कार्यमा व्यवसायीलाई सहयोग गर्न राजदूतावास सधैं तत्पर रहेको जानकारी दिए ।  

नेपाल जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सङ्गीता यादव र नेपाल निर्यातक महासङ्घका अध्यक्ष पवन गोल्यानले नेपालमा जडीबुटीको उत्पादन÷प्रशोधन, कृषि उत्पादन तथा प्रशोधनका प्रशस्त सम्भावना रहेका जानकारी दिँदै नेपालमा लगानी गर्न थाइ उद्यमीलाई अनुरोध गरेका थिए । 

इस्लामावादमा बुद्धजयन्ती
यता  दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा गत मङ्गलबार पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपालको राजदूतावासमा एक कार्यक्रमको आयोजना गरी शान्तिका अग्रदूत भगवान् गौतमबुद्धका वाणीको परिचर्चा गरियो ।

नेपाल र पाकिस्तानका बौद्ध भिक्षुका साथै पाकिस्तानी नागरिकको उपस्थितिमा भएको उक्त कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले अहिंसा, दया, करुणा, समभाव एवं सम्यक ध्यानजस्ता बौद्ध दर्शनका प्रमुख सिद्धान्त मानव जीवनका लागि उपयोगी छन् भने । 

undefined

उनले बौद्ध दर्शनमा लुम्बिनी र तक्षशीलाको ठूलो महत्व रहेको र नेपाल सरकारले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्न गरेका प्रयासको चर्चा गर्दै पाकिस्तान सरकारले गान्धारा सभ्यताको संरक्षण र प्रवरद्धन गर्न गरेको प्रयासको प्रशंसा गरे । 

साथै उनले बौद्ध परम्परामा नेपाल प्रमुख तीर्थ एवं आध्यात्मिक गन्तव्यका रूपमा रहेकाले पाकिस्तानलगायत विश्वभरबाट अध्यामिक साधकहरू नेपाल भ्रमणमा जाने गरेका जानकारी दिनुभएको उक्त दूतावासले जनाएको छ ।

कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री एवं युवक बौद्धमण्डल नेपालका सल्लाहकार डा केशवमान शाक्य, बौद्ध अध्येता एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य श्रीओमचरण अमात्य, बौद्ध विद्धान् एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक भिक्षु पण्डित सङ्किच श्रामणेर र गोरखापत्रका प्रमुख संवाददाता केदारप्रसाद भट्टराईले बौद्ध दर्शनका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए । 

नेपालबाट गभएका विद्वान्हरूले हाल पाकिस्तानमा रहेका प्राचीनस्थल खासगरी स्वात उपत्यका (गुरू पद्मसम्भव जन्मनुभएको उदियाना), पेशावर (पुरुषपुर), चरसद्दा (पुस्कलावती) एवं टक्सिला (तक्षशिला)को  बौद्धदर्शन विकासमा ठूलो महत्व रहेको बताएका थिए । 

उक्त अवसरमा उनीहरुले बौद्धधर्म र दर्शनका विभिन्न पक्ष, यसको महत्व र अपरिहार्यता दर्शाउँदै पाकिस्तानमा रहेको गान्धारा सभ्यता सम्पूर्ण बौद्धजगत्को सेतुका रूपमा रहेकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएकामा जोड दिएका थिए । 
 

Advertisement

Advertisement