बैंकहरुको निष्क्रिय कर्जा अनुपात झण्डै ४ प्रतिशत पुग्दा ‘नेट एनपीएल’ १.१४ प्रतिशत मात्रै

Advertisement

काठमाडौं । बाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात उच्च भए पनि खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) भने अत्यन्तै कम देखाइएको छ । 

नेपाल राष्ट्र बैंकबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् । चैत मसान्तसम्म बाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात औसत ३.८९ प्रतिशत पुगेको छ । तर, त्यसमा खुद निष्क्रिय कर्जा अनुपात अर्थात् नेट एनपीएल भने १.१४ प्रतिशत मात्रै देखाइएको हो । 

Advertisement

राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८०–८१ को दोस्रो त्रैमासदेखि बाणिज्य बैंकहरुको नेट एनपीएल गणना गर्न सुरु गरेको थियो । त्यसबेला बाणिज्य बैंकहरुको नेट एनपीएल १.१३ प्रतिशत मात्रै थियो । कुल निष्क्रिय कर्जा अनुपात भने ३.६३ प्रतिशत रहेको थियो । त्योअनुसार पछिल्लो तीन महिनामा बैंकहरुको नेट एनपीएल ०.०१ प्रतिशत विन्दुले मात्रै बढेको छ । 

बैंकहरुले निष्क्रिय कर्जाबापत तोकिएको सीमामा कर्जा नोक्सानी व्यवस्था अर्थात्, प्रोभिजनिङ राख्ने गर्छन् । त्यसरी प्रोभिजनिङ राखिएको रकमलाई हटाएर नेट एनपीएल निकालिएको हो । प्रोभिजनिङ राखिएको कर्जा डुबेमा वा अशुल नभएमा बैंकहरुको वित्तीय अवस्था थप प्रभावित हुँदैन । किनकी, त्यसलाई प्रोभिजनिङले सुरक्षा प्रदान गरिसकेको हुन्छ । त्यसैले बैंकहरुको कर्जामा रहेको वास्तविक जोखिम देखाउनका लागि पनि यस्तो तथ्यांक निकालिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । 

पछिल्लो समय बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढ्यो भनेर बिभिन्न ढंगले व्याख्या गरिएको छ । कतिपय व्यक्ति तथा समूहले यसकै आधारमा बैंकहरु डुब्न लागेको भनेर हल्ला पनि गरिरहेका छन् । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको यो तथ्यांकले भने त्यस्तो हल्लालाई थप कम्जोर बनाउन सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् । 
 
बिशेषगरि पछिल्लो समय देखिएका आर्थिक शिथिलताका कारण बैंकहरुका केही कर्जाहरु अशुल हुन सकेको छैनन् । त्यसले गर्दा गत आवदेखि बैंकहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ । सामान्यत औसत एकदेखि दुई प्रतिशत भित्र हुने बैंकहरुको कुल निष्क्रिय कर्जा अहिले झण्डै चार प्रतिशत नजिक पुगेको छ । 

केही बैंकको खराज कर्जा पाँच प्रतिशतभन्दा माथि पुगिसकेको छ । त्यसले बैंकहरुको वित्तीय अवस्था खराव हुन लागेको संकेत गरेको थियो । तर, नेट एनपीएल मात्रै हेर्दा बैंकहरु सहज अवस्थामै रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । 

तथ्यांकअनुसार सबैभन्दा कम नेट एनपीएल एभरेष्ट बैंकमा देखिएको छ । उक्त बैंकमा ०.२० प्रतिशत मात्रै नेट एनपीएल छ । उक्त बैंकको कुल निष्क्रिय कर्जा अनुपात पनि अरुको भन्दा कम अर्थात् ०.७० प्रतिशत छ । 

दोस्रो स्थानमा भने नेपाल एसबीआई बैंक रहेको छ । उक्त बैंकमा ०.२२ प्रतिशत मात्रै खुद निष्क्रिय कर्जा अनुपात छ । उक्त बैंकको कुल निष्क्रिय कर्जा अनुपात भने १.९८ प्रतिशत देखिएको छ । 

यसैगरि तेस्रो स्थानमा रहेको कुमारी बैंकसँग ०.३८ प्रतिशत खुद निष्क्रिय कर्जा अनुपात देखिएको छ । उक्त बैंकको कुल निष्क्रिय कर्जा अनुपात भने ४.९५ प्रतिशत रहेको छ । 

समीक्षा अवधीमा सबै भन्दा धेरै खुद निष्क्रिय कर्जा अनुपात लक्ष्मी सनराज बैंकसँग देखिएको छ । उक्त बैंकमा कुल निष्क्रिय कर्जा अनुपात ५.४९ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा अनुपात भने २.२४ प्रतिशतमा सीमित छ ।

Advertisement

Advertisement