वीरगञ्ज क्षेत्रमा उच्चक्षमताका प्रसारण लाइन तथा सबस्टेसन बनाइरहेका छौंः प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण गरिरहेको दावी गरेको छ । 

वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई विद्युत् आपूर्ति दिन चालू रहेका प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणको भनाई छ । 

Advertisement

साथै, उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन छन् भने केही प्रस्तावित छन् भन्दै प्राधिकरण स्रोतले बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रुपमा बनाउन लागेको जानकारी दिएको छ । 

प्राधिकरणले वीरगञ्ज औद्योगिक करिडोरको समस्या समाधान गर्न बाराको पथलैया (पिलुवा) सबस्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार (कन्डक्टर) बदलेर नयाँ राखिरहेको, डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पूरानो कन्डक्टर निकाली उच्च क्षमता (एचटिएलएस)को राख्ने काम भइरहेको भन्दै एउटा सर्किटको काम सकिएपछि त्यसलाई सञ्चालन गरी दोस्रो सर्किटको काम सुरु हुने बताएको छ । 

प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको, पथलैया (पिलुवा) परवानीपुर प्रसारण लाइनबाट करिब दुई सय मेगावाट प्रवाह गर्न सकिनेमा कन्डक्टर बदलेपछि क्षमता बढेर झण्डै दोब्बर हुने, हेटौंडा–पथलैया (पिलुवा) १३२ केभी प्रसारण लाइनको पनि कन्डक्टर बदलेर क्षमता दोम्बर बनाइसकिएको भन्दै प्राधिकरणले यसले गर्दा परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुने दावी गरेको छ । 

आफ्ना कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार स्थलगत अनुगमन गरी कन्डक्टर (तार) बदल्ने कार्य जतिसक्दो छिट्टो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गरेको प्राधिकरणले जानकारी दिएको छ । वीरगञ्ज क्षेत्रका उद्योगहरुले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माणाधीन रहेको उनले बताए । 

वीरगञ्ज क्षेत्रका उद्योगहरुलाई लक्षित गरी बाराको प्रसौनी र वीरगञ्जमा गरी १३२ केभीका दुई वटा सबस्टेसन निर्माणाधीन रहेको, प्रसौनी सबस्टेसन र बीरगञ्ज सबस्टेसन जोडी विद्युत् आपूर्ति गर्न १३२ प्रसारण लाइन निर्माणाधीन रहेको, वीरगञ्ज क्षेत्रको विद्युत्को बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी प्रसारण लाइन प्रस्ताव गरिएको, पोखरियामा सबस्टेसन निर्माणाधीन रहेको, परवानीपुर– पोखरिया करिब २१ किलोमिटर प्रसारण लाइनको डिजाइन तयार भइसकेको भन्दै प्राधिकरणले हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई  रमौली हुँदै पोखरियामा पुर्याउने गरी अर्को आयोजना सुरु गरिएको बताएको छ ।  प्रस्तावित उक्त ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुनेछ । 

Advertisement

Advertisement