एमसीसीबाट आयो दुई करोड ६७ लाख डलर

Advertisement

काठमाडौं । अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालमा दुई करोड ६७ लाख ५८ हजार ९२२ डलर पठाएको छ । 

अर्थ मन्त्रालयबाट प्राप्त २०८० चैत मसान्तसम्मको तथ्यांकअनुसार विभिन्न मितिमा गरेर उक्त रकम पठाएको देखिएको हो । निकै विवाद र आचोचनामा पर्दै आएको एमसीसीको अनुदानमा कार्यान्वयन हुने परियोजनाका लागि ५० करोड डलर नेपाल आउने जनाइएको छ । त्यसमध्ये सानो हिस्सा मात्रै आएको हो । 

Advertisement

एमसीसीले आव २०७५–७६ देखि नै पैसा पठाउन सुरु गरेको थियो । तथ्यांकअनुसार आव २०७५–७६ मा ७० लाख ७५ हजार डलर, आव २०७६(७७ मा २३ लाख ६५ हजार डलर, २०७७–७८ मा ४५ लाख ३१ हजार डलर, २०७८–७९ मा ५३ लाख पाँच हजार डलर र आव २०७९–८० मा ५३ लाख पाँच हजार डलर आएको छ । 

चालु आवको नौ महिनामा ४४ लाख डलरभन्दा बढी रकम नेपाल भित्रिएको छ । एमसीसीले खर्चको आधारमा नेपालमा एमसीए नेपाललाई भुक्तानी दिने गर्छ । यो निकाय नेपालको सरकारले एमसीसीले छनौट गरेका परियोजना कार्यान्वयन गर्न बनेको हो । 

सम्झौता कार्यान्वयनमा प्रवेश गरिनसके पनि एमसीसीले पूर्व तयारीको नाममा सो बराबरको बजेट नेपाल पठाएको हो । एमसीसीबाट आउने रकम मध्ये चार करोड पाँच लाख डलर पूर्व तयारीमा खर्च गर्न पाइन्छ । एमसीसीबाट ५० करोड डलर र नेपालको सरकारले थप लगानी गरेर बिभिन्न पूर्वाधार परियोजना बनाउने गरि अमेरिकासँग २०७४ भदौमा सम्झौता भएको थियो, जुन सम्झौता २०७८ फागुन १५ गते विवादका बीच संसदबाट अनुमोदन गर्ने काम भएको थियो । 

यसको कार्यान्वयन भने २०८० भदौ १३ गते सुरु भइसकेको छ । सम्झौता अनुसार कार्यान्वयन सुरु भएको पाँच बर्षमा सबै परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । समयमै परियोजनाको निर्माण सम्पन्न नभएमा एमसीसीले बाँकी पैसा पठाउने छैन् । छनौट गरिएका परियोजनाका लागि सरकारले थप १९.७० करोड डलर खर्च गर्नुपर्नेछ । 

एमसीसी सम्झौताअनुसार ३१५ किलोमिटरको चार प्रसारण लाइन, तीन सवस्टेशन र पूर्व–पश्चिम महेन्द्र राजमार्ग लगायतका सडकको विभिन्न खण्डलाई विशेष रुपमा मर्मत गरिने जनाइएको छ ।

Advertisement

Advertisement