नेप्स र क्लियरिङ हाउसको एकीकृत कारोबार सुरु

Advertisement

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले एकीकृत कारोबार सुरु गरेका छन् । 

उनीहरुले सोमबारदेखि नेपाल क्लियरिङ हाउस लिमिटेडकै नामबाट एकीकृत कारोबार गरेका हुन् । एनसीएचएलले नेप्सलाई प्राप्ती गरेर एकीकृत कारोबार गरेको हो । सोमबार साँझ एक औपचारिक कार्यक्रम गरेर एकीकृत कारोबारको घोषणा गरिदैछ । यद्यपि, आज बिहानबाटै एकीकृत कारोबार सुरु भइरहेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान प्रधानले बताए ।

Advertisement

नेपालमा भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरु मर्ज भएको यो पहिलो हो । त्यसमा पनि निजी र सरकारी स्वामित्वको कम्पनी मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । एनसीएचएल नेपाल राष्ट्र बैंकसमेतको स्वामित्वमा स्थापना भएको संस्था हो । नेप्स भने निजी क्षेत्रका केही वाणिज्य बैंकहरुले स्थापना गरेको संस्था हो । 

दुवैले भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका छन्  । सरकार र निजी क्षेत्रका यी दुवै भुक्तानी प्रणाली सञ्चालक संस्थाबीच गत पुसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । त्यसपछि गत चैत २३ गते यस सम्बन्धमा अन्तिम सम्झौता भएको थियो । 

त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर दुवै संस्थाले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । एनसीएचएलले बिशेषगरी विद्युतीय भुक्तानी प्रणालीका लागि आवश्यक पूर्वाधार (सफ्टवेयर लगायत) सञ्चालन गर्दै आएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरु सोही पूर्वाधार आवद्ध भएर आफ्नो डिजिटल भुक्तानीको उपकरण सञ्चालन गर्दै आएका छन् । एनसीएचएल आफैले पनि कनेक्ट आईपीएस नामक डिजिटल भुक्तानीको उपकरण सञ्चालन गर्दै आएको छ । 

यता नेप्सले भने बिभिन्न बैंकको एटीएम कार्ड कारोबारका लागि स्वीच पूर्वाधार सञ्चालन गर्दै आएको थियो । यी दुवै संस्था मर्ज हुँदा डिजिटल भुक्तानी प्रणालीको सञ्चालन र विकासमा नयाँ आयम आउने अपेक्षा गरिएको छ ।

एनसीएचएलले अहिलेसम्म कार्ड भुक्तानीको प्रणाली सञ्चालन गरेको थिएन । यद्यपि, नेशनल पेमेन्ट स्वीच एनसीएचले कार्यान्वयन गर्दै आएको छ । त्यो अवस्था कार्ड भुक्तानीको पूर्वाधार भएको नेप्सलाई प्राप्ती गर्दा सहज भएको एनसीएचलको भनाई छ । यसले कार्ड भुक्तानीको पूर्वाधार निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

Advertisement

Advertisement