आर्थिक मन्दीको नतिजा: दश महिनामा १० अर्ब ७० करोडको जीवन बीमा पोलिसि ‘सरेन्डर’

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो १० महिनामा ८७ हजार २०१ वटा जीवन बीमा पोलिसि ‘सरेन्डर’ (समर्पण) भएको छ । 

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तससम्मको तथ्यांकअनुसार अवधी नसकिँदै (परिपक्वता नहुँदै) सो बरारबको जीवन बीमा पोलिसि सरेन्डर गरिएको हो । 

Advertisement

रकमका आधारमा १० अर्ब ७० करोड तीन लाख रुपियाँको पोलिसि सरेन्डर भएको  छ । समीक्षा अवधीमा साना र ठूला जीवन बीमा कम्पनीहरुले एक खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

त्यसको ८.८ प्रतिशतको अनुपातमा पोलिसी सरेन्डर भएको देखिन्छ । गत आव भरमा १३ अर्ब ३४ करोड ३३ लाख रुपियाँ बराबरको ९६ हजार ९३८ पोलिसि सरेन्डर भएको थियो । चालु आवको असारसम्म पुग्दा सोही बराबरको पोलिसि सरेन्डर हुने अनुमान गरिएको छ । 

बीमितले पाँच बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधी तोकेर बीमा गरेका हुन्छन् । त्यसको  लागि बार्षिक रुपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधीभर बीमालाई निरन्तरता दिन नचाएमा बीमितले आवश्यक प्रक्रिया पुरा गरेर पोलिसि बन्द गर्न सक्छन् । बीमितले त्यही अवधीसम्म तिरेको बीमाशुल्क र आर्जित बोनस फिर्ता पनि पाउने छन् । 

यद्यपि, त्यसमा केही शुल्कहरु भने काटिनेछ । समीक्षा अवधीमा नेपाल लाइफ इन्स्योरेन्समा सबै भन्दा बढी रकमको बीमा पोलिसि सरेन्डर भएको छ । तथ्यांकअनुसार नेपाल लाइफमा तीन अर्ब ८० करोड २४ लाख रुपियाँ बराबरको २४ हजार ३३० वटा पोलिसि सरेन्डर भएको छ । 

यसैगरि, एलआईसी नेपालमा दुई अर्ब ३६ करोड ४५ लाख रुपियाँ बराबरको १७ हजार २९३ वटा पोलिसी सरेन्डर भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीमा ९० करोड २१ लाख रुपियाँको बराबरको १० हजार ४८३ वटा पोलिसि सरेन्डर भएको छ ।

यसैगरि, नेशनल लाइफमा ७९ करोड ५२ लाख रुपियाँको बराबरको पाँच हजार ६७१ वटा पोलिसि, एसियन लाइफमा ६७ करोड ७० लाख रुपियाँ बराबरको सात हजार ९४३ वटा, सूर्य ज्योति लाइफमा ५८ करोड १० लाख रुपियाँ बराबरको चार हजार २१९ वटा, हिमालयन लाइफमा ५७ करोड ८९ लाख रुपियाँ बराबरको छ हजार ५०७ वटा, मेट लाइफमा ३३ करोड ६१ लाख रुपियाँ बराबरको तीन हजार ३२५ वटा र सानिमा रिलायन्स लाइफमा १६ करोड ५० लाख बराबरको एक हजार ५२० वटा पोलिसि सरेन्डर भएको छ । 

यसैगरि, प्रभु महालक्ष्मी लाइफमा १४ करोड २१ लाख रुपियाँ बराबरको ९२१ वटा, सिटिजन्स लाइफमा १२ करोड १६ लाख बराबरको दुई हजार १२ वटा, आईएमई लाइफमा १० करोड ५६ लाख रुपियाँ बराबरको एक हजार १८२ वटा, रिलायवल नेपाल लाइफमा सात करोड ५७ लाख रुपियाँ बराबरको एक हजार २४९ वटा र सन नेपाल लाइफमा पाँच करोड २३ लाख बराबरको ५४३ वटा जीवन बीमा पोलिसि सरेन्डर भएको छ ।

बिशेषगरि, पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बीमालेख सरेन्डर बढ्दै गएको बीमा कम्पनीहरु बताउँछन् । आर्थिक संकटका कारण आम मानिसहरुमा आम्दानी प्रभावित भएको, क्रयशक्ति घट्दै गएको, व्यापार व्यवसायमा नोक्सान भएको, सहकारी संस्थाहरुले रकम भुक्तानी नदिएको आदि कारण धेरैले बीमालेख नवीरकण गर्न सकेका छैनन् ।

Advertisement

Advertisement