हिमाल आरोहणमा यसरी पनि ठगिन्छन् आरोही, फरक क्षमताका सागरलाई यसरी बनाइयो बिचल्ली

Advertisement

काठमाडौं । सागर सुनार (विश्वकर्मा) कास्कीको मादी गाउँपालिका सैमराङस्थित तेसा गाउँका फरक क्षमताका व्यक्ति हुन् । यस बर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा चढ्ने सपनासहित प्रक्रिया अघि बढाए । 

सगरमाथा आरोहण गर्न उनलाई हाइ फाइभ एडभेन्चर कम्पनीका सञ्चालक नर्विन मगरले बुकिङ वन कम्पनीमार्फत  काठमाडौंबाट हेलिकप्टरमा लुक्ला पठाए । उनीसँग आफ्नी दिदी उर्मिला पनि सहभागी भइन् । गत अप्रिल २६ मा लुक्ला पुगेका सागरलाई हिमाल चढाउने भनेर हाइ फाइभले मोटो रकम लिएको थियो । नर्विनले हिमाल चढाउन भन्दै काठमाडौंमै सागरसँग ११ लाख रुपियाँ अशुलेका थिए ।

Advertisement

तर सागर सुनार लुक्ला पुग्दा न उनीसँग न शेर्पा सहयोगी थियो न गाइड । यद्यपि आरोहण कम्पनीले पछि सबै कुराको संयोजन र व्यवस्थापन गर्ने विश्वासमा अघि बढे । हिमाल आरोहणका लागि जाने क्रममा फेरिचे पुगेपछि सागरलाई पखाला चल्यो । त्यसपछि दिदी भाई पुनः लुक्ला फर्किए । लुक्लास्थित एक अस्पतालमा उपचार गरेर ठिक भएपछि भाईलाई लिएर उर्मिला लोबुचे हुँदै डिङ्बोचे पुगिन् । 

‘डिङ्बोचे पुगेर पखिनु, शेर्पा सहयोगी आउँछ’ आउँछ भनेर नर्विनले भनेका थिए । तर डिङ्बोचेस्थित एक होटलमा पाँच दिनसम्म कुर्दा पनि कुनै शेर्पा आएन ।  ‘त्यसपछि हामी आफ्नै खर्चले भरिया खोजेर लोबुचे गयौं’ उर्मिलाले भनिन्, ‘लोबुचेमा करिब पाँच दिन बस्यौं आफ्नै खर्चमा । त्यहाँ पुगेपछि त्यो नर्विन मगरको स्टाफले नर्विन गोरक्षेप आएर बिरामी भएर फर्किएको खबर सुनाए । त्यसपछि लोबुचेस्थित होटल पिरामिडको एक जना दाईले यत्तिकै बिना पोर्टर (भरिया) र गाइड माथि जानुहुँदैन । सम्पर्क अधिकारीलाई खबर गर्नु र काठमाडौं फर्किनु भने ।’ 

त्यसपछि उर्मिला र सागर लोबुचेबाट काठमाडौं फर्किए । सागरको सगरमाथा चढ्ने सपना अहिलेलाई अधुरै भयो । नर्विनले धाखा दिएका कारण उल्टै उनले थप चार लाख रुपियाँ खर्च गर्नुपर्यो । तर नर्विन र उनको कम्पनीले न त्यसको जिम्मेवारी लियो, न उसमाथि अहिलेसम्म सरकारको सम्वन्धित् निकायले अहिलेसम्म कारवाही नै गरेको छ । 

सागरसँगै सगरमाथा आरोहण गर्न यति माउन्ट एडभेञ्चरमार्फत अनुमति लिएका विनोदबाबु बस्ताकोटीलाई पनि नर्विनले धोखा दिएका थिए । नर्विनको लापर्वाही गर्दै बिना शेर्पा पोर्टर र गाइड सगरमाथा आरोहण गर्न गएका बस्ताकोटी ओर्लिने क्रममा क्याम्प ४ मा उनको गत जेठ ९ मा ज्यान गएको थियो । यो घटनालाई पनि सरकारले गम्भीररुपमा लिएको छैन् । 

हाइ फाइभले यसरी मानिसहरुसँग आरोहणका लागि भन्दै पैसा उठाउँदै धोखा दिएका धेरै घटना छन् । आफूहरुले धोखा पाएपछि सागरका दिदीभाईले नर्विनसँग आफूहरुले दिएको रकम फिर्ता मागे । तर अहिलेसम्म उक्त रकम फिर्ता गर्न उनले कुनै चासो दिएका छैनन् । 

उर्मिलाले भनिन, ‘हामीले नर्विन मगरलाई ११ लाख रुपियाँ नगद सुरुमै दिएको हो । बाँकी पैसा चाहिँ सगरमाथाको सफल आरोहणबाट फर्किएपछि दिने कुार भएको थियो । उसले हामीलाई ५० लाख मागेको थियो । तर उसले न भाईलाई सगरमाथा चढायो । न अहिले पैसा फिर्ता दिएको छ । उल्टै अनावश्यक दुःख मात्रै दियो । मेरो भाईको सगरमाथा चढ्ने सपना पनि अधुरै रह्यो । हामीलाई बीच बाटोमा बिचल्ली बनायो । हामी २० दिनपछि बल्ल काठमाडौं आइपुग्यो ।’ 

नर्विनले धोखा दिएका कारण आफूहरुको थप चार लाख ३० हजार खर्च भएको पीडितहरुको गुनासो छ । सरकारले त्यस्तो फटाहाहरुलाई पर्यटन क्षेत्रमा राख्न नहुने भन्दै उर्मिलाले भनिन्, ‘हामीले त दुःख पायो । अरुले पनि धेरै पाएको छ । अरु मानिसलाई ठगिनबाट जोगाउन कारवाही गर्नुपर्ने हो । कति मान्छेहरु त बोल्न पनि सक्दैन् । आफ्नो पीडा लुकाएर बस्छ ।’

हिमाल आरोहण गराउन लैजान्छु भनेर लोभ देखाएर बीच बाटोमा अलपत्र पार्ने हाइ फाइभ जस्ता कम्पनीलाई खारेज गरी र नर्विन जस्ता मान्छेहरुलाई जेल पठाउनुपर्ने भन्दै पीडितहरुले यो कुरा पर्यटन क्षेत्रका अगुवाहरुले पनि उठाउन जरुरी रहेको बताए । तीन फुट सात ईञ्च मात्र उचाई भएका ३० वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर विश्वमा फरक क्षमताका भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गर्न लागेका थिए । त्यसका लागि दिदी उर्मिलाले आर्थिक सहयोग गरेकी थिइन् । 

सागरले यसअघि दोलखाको रामदुङ पिक (५,९२५ मिटर)को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा आरोहण गरिसकेका छन् । होचो र फरक क्षमता भएकाहरुको एउटा संस्था खोल्ने योजना बनाएका सागरले सगरमाथासहित सात वटै महादेशका चुचुरोहरु आरोहण गर्ने योजना बनाएका छन् । 

Advertisement

Advertisement