अब वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीमार्फत

Advertisement

काठमाडौं । वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलान प्रणालीमार्फत गर्ने कार्यको शुभारम्भ भएको छ । 

बिहीवार एक कार्यक्रमबीच परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण कार्य अनलान प्रणालीमामार्फत गर्ने कार्यको शुभारम्भ गरे । उनले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक समन्वय गरेर काम गरिरहेको बताए । 

Advertisement

वैदेशिक रोजगार विभागसँग समेत समन्वय गरी कन्सुलर सेवा विभागले निर्माण गरेको अनलाइन मागपत्र प्रमाणीकरण प्रणालीको आजबाट कार्यान्वयन भएपश्चात सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोग समक्ष अनलाइनबाट आवेदन गर्ने र आवेदन स्वीकृति भएपछि मात्र राजश्व रकम भुक्तानी कार्य हुने श्रेष्ठले बताए । 

उनले तत्पश्चात उक्त मागपत्रहरु अनलाइनबाट नै वैदेशिक रोजगार विभागको प्रणालीमा आइपुग्ने र वैदेशिक रोजगारी विभागले रुजु गरी आवश्यक श्रम स्वीकृति प्रदान हुने बताए । श्रेष्ठले यस व्यवस्थाबाट सम्बन्धित रोजगार दाता कम्पनी, व्यक्ति एवं छनोट गर्ने कम्पनी लगायत सबैले आफ्नै घर वा कार्यालयबाट माग पत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाट नै पूरा गर्नसक्ने, आफ्नो आवेदनको प्रगति विवरण हेर्नसक्ने, कुनै कागजात तथा विवरण नपुगे अनलाइनबाट नै अपडेट गर्नसक्ने, विचौलियाजन्य कार्य निरुत्साहित भई कार्यालयमा भीडभाड नहुने, रोजगारदाता र श्रमीक छनोट गर्ने एजेन्सी लगायतका विवरणहरु सुरक्षित रहने बताउनु भयो । उहाँले रिहाद बाहेक अन्य राजदुतावासमा यसअघि मागपत्र प्रमाणीकरण नहुने गरेको पनि बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अनलाइन प्रणालीले श्रमीकहरुको हक र हितको लागि साथै रोजगारदाता कम्पनीहरुलाई नियन्त्रण र उहाँहरुलाई सहजीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पारिश्रमिकको करेन्सी नेपाली वा युएस डलरमा राख्न सुझाव दिए । पारिश्रमिक राख्ने प्रणालीमा अंग्रेजी भए अमेरिकन डलर र मिलेसम्म नेपालीमा नै राख्न सुझाव दिए । 

अर्यालले यस प्रणालीको शुभारम्भ नेपाली दूतावास अबुधाबीबाट गरिएको र अब क्रमैसँग छिटै अन्य नेपाली दुतावासहरुबाट समेत अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणिकरण हुने व्यवस्था गर्न लागिएको बताए । 

Advertisement

Advertisement