एक एमाले नेता भन्छन्– नेपाली सेनामा अझै गणतन्त्र आएको छैन्

Advertisement

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा अहिलेको गणतान्त्रिक व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन् । 

बुधवार संसदमा उनले नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिननहुने बताए । नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो ? भन्दै गुरुङले प्रश्न पनि गरे । 

Advertisement

उनले नेपाली सेनालाई अझै आधुनिकीकरण र सक्षम गर्नुपर्ने बताए । नेपाली सेनाभित्र गणतन्त्र नआएको गुरुङको तर्क छ । उनले राष्ट्रिय सुरक्षा नीतिमा समयानुकुल सुधार गर्नुपर्ने बताए । 

गुरुङले भने, ‘हामीहरु त्यस्तो संवेदनशील जुन अङ्ग छ, जुन संस्था, संरचना छ नेपाली सेना । त्यसलाई हामी व्यापार गर्न दिन्छौँ । त्यसलाई हामी ठेक्कापट्टा गर्न दिन्छौँ । सुरक्षाको हिसाबले, संवेदनशीलताको हिसावले यो कुरा कत्तिको जायज हो ? आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला । हामीले सोच्नुपर्छ, त्यो चिज धेरै महत्वकांक्षी बन्यो भने त्यसले हाम्रो संघीय गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरी त्यस्तो महत्वकांक्षा बढ्दाखेरी के हुन्छ ? संकट पैदा भएको देखेको छैन ? हामीले देखेको छौँ नि ।’

उनले थपे, ‘अहिले उसको काम त राम्रो होला । विश्वसनीय संस्था नेपाली सेना नै भनेका छौँ । नेपाली सेनाको अझै आधुनिकीकरण, पेशागत हिसाबले अझै सक्षम संस्था बनाउनु जरुरी छ । त्यहाँभित्रका धेरै कुराहरु लोकतान्त्रिकरण हुन सकेका छैनन् । त्यहाँ गणतन्त्र आएको छैन भन्ने लाग्छ मलाई । यसको आन्तरिक जीवनको व्यवस्थापनको लागि पनि रक्षा मन्त्रालयले केही न केही नीति बनाउनुपर्छ । राष्ट्रिय सुरक्षा भनेको नेपाली सेनाको मात्रै हो भन्ने बुझाइ त्यहाँका ठूला हाकिमहरुको पनि छ । हाम्रो नेताहरुको, पार्टीहरुको पनि छ । राष्ट्रिय सुरक्षा भनेको खाली नेपाली सेनाको मात्र होइन, नेपाल प्रहरी छ । सशस्त्र छ । राष्ट्रिय सुरक्षालाई व्यवस्थापन गर्ने, सुदृढ गर्ने, ऐनमा समयानुकुल सुधार गर्नुपर्ने केही छ भने सुधार गर्नुप¥यो । सुधार गरेको देखिदैन ।’

सांसद गुरुङले सबै मन्त्रालयका बजेटहरु परम्परावादी भएको बताउनु भयो । उहाँले बजेट मन्त्रालयका सचिव, सहसचिवहरुले बनाएको देखिने भन्दै त्यसबाट माथि उठ्न बजेट निर्माणमा मन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताउनु भयो ।

Advertisement

Advertisement