देशभरका ६७४३ वडाहरुमध्ये अहिलेसम्म जम्मा ४०.४ प्रतिशतमा मात्रै बैंकिङ पहुँच

Advertisement

काठमाडौं । नेपालका हालसम्म दुई हजार ७२२ वटा वडामा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको सामुदायिक प्रतिवेदनले यस्तो देखाएको हो । 

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यो प्रतिवेदन तयार गरेको कार्यालयले बताएको छ । हाल नेपालमा ७५३ पालिकाको छ हजार ७४३ वटा वडा छन् । त्यसको ४०.४ प्रतिशत अर्थात् दुई हजार ७२२ वटा वडामा बैंक तथा वित्तिय संस्थाको शाखा विस्तार भएको छ । 

Advertisement

बाँकी चार हजार २१ शाखामा भने बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार हुन नसकेको कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए । प्रतितवेदनअनुसार १ देखि २ वटा बैंक तथा वित्तीय संस्था भएका वडा २५.५ प्रतिशत रहेका छन् भने ३ देखि ४ वटा हुने वडा ६.६ प्रतिशत र ५ देखि ९ वटा भएका वडा ५.५ प्रतिशत छन् । दशभन्दा बढी बैंक तथा वित्तिय संस्थाका शाखा भएका वडा भने २.८ प्रतिशत मात्रै रहेका छन् । 

यसमध्ये बागमतीमा सबैभन्दा धेरै वडामा बैंक तथा वित्तीय संस्था छन् । यहाँ राजधानी काठमाडौं पनि रहेको र मुलुकको मुख्य शहर पनि यहीं पर्ने भएकाले शाखाहरु बढी भएका हुन् । अधिकांश बैंकहरुको प्रधान कार्यालय पनि काठमाडौंमा रहेको छ । त्यसमाथि यो क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुन्छ । जहाँ आर्थिक कारोबार हुन्छ, त्यही बढी बैंकहरु पुगेका हुन्छन् । कर्णालीका भने कम वडामा बैंक तथा वित्तीय संस्थाको शाखा स्थापना भएका छन् । 

वागमतीमा ४९.२ प्रतिशत वडामा बैंकिङ पहुँच पुग्दा कर्णालीमा भने २१.३ प्रतिशत वडामा मात्रै पहुँच पुगेको छ । त्यस्तै, कोशीमा ४१.४ प्रतिशत वडामा, मधेसमा ४१.४ प्रतिशत वडामा, गण्डकीमा ४०.१ प्रतिशत वडामा, लुम्बिनीमा ५१ प्रतिशत वडामा र सुदूर पश्चिममा ३२.६ प्रतिशत वडामा बैंक तथा वित्तीय संस्थामा शाखा खुलेका छन् । 

Advertisement

Advertisement