निकै उच्च हिमाली क्षेत्रमा समेत पाइने कालो चरा, जसको आहारा हो मानिसको आँखा

Advertisement

काठमाडौं । पायोनियर एडभेन्चर प्रा.लि.का सञ्चालक तथा हिमाल आरोही पासाङ शेर्पा सन् २००५ को वसन्त ऋतृमा दोस्रो पटक चीनतर्फबाट सगरमाथाको आरोहण गर्दै थिए । 

उनले करिब सात हजार चार सय मिटर उचाइमा दुई वटा चरा देखे । झट्ट हेर्दा कागजस्तो देखिने ती चराले हिउँको थुप्रोमा केही खाइरहेका थिए । पासाङले ती चरालाई नियालेर हेरे । उनले यो काग हो वा अन्य कुनै प्रजातीको चरा हो ? ठम्याउन सकेनन् । 

Advertisement

त्यहाँ पासाङले रोचक कुरा के देखे भने ती चराले सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएका आरोहीको आँखा खाइरहेको थिए । विश्वको सर्वोच्च शिखर सगरमाथामाको यती धेरै उचाईमा पनि यसरी चरा पुग्दो रहेछ भन्ने कुराले उनलाई निकै आश्चर्य लाग्यो । 

पासाङले भने, ‘त्यसअघि मैले यस्तो दृष्य कहिले पनि देखेको थिइन् । त्यो भन्दा पनि रोचक र अनौठो कुरा उनीहरुको आहारा मानिसहरुको मृत शरीरको आँखा हुँदो रहेछ ।’ सगरमाथालगायत थुप्रै हिमालमा आरोहीहरुको मृत शरीद देख्न सकिन्छ । उनीहरुको शब आधार शिविरतर्फ झार्न निकै कठिनाई र धेरै खर्च लाग्ने भएकाले त्यत्तिकै अलपत्र छोडिएको हुन्छ, जसको आँखा काग जस्तै देखिने चराको आहारा हुने गरेबाट उनलाई अनौठो लाग्यो । 

पासाङ आफूले मात्र नभई अरु धेरै आरोहीले पनि सगरमाथाको उच्च भागमा यस्ता चरा देखेको सुनाउँछन् । चरासम्वन्धी जानकारहरुले बताएअनुसार कागका पाँच प्रजातीमध्ये टुङ्गा र टेमु उच्च हिमाली क्षेत्रमा रहने गर्छ भन्दै उनले तर यस्ता चराले जिवित मानिसहरुलाई आक्रमण गरेको घटना भने अहिलेसम्म थाहा नपाएको बताए । 

पासाङले थपे, ‘हिमालमा विश्वका धेरै देशबाट मान्छे आएको त थाहा थियो तर चरा पनि हिमालको यती धेरै उचाईमा हुनु भनेको आश्चर्यकै विषय हो । ती चरा हिमालमा मौसम खुल्ला हुँदा उडेर जान्छन र मौसम खराब हुँदा मान्छे जसरी नै हिड्ने रहेछ ।’

अर्का पर्वतारोही लाक्पा शेर्पाले पनि मकालुको शिखरमै काग जस्तै कालो चरा उडेको देखेको बताए । मकालु हिमालको सातौं पटक सफल आरोहण गरी कीर्तिमान बनाएका उनले मकालु आरोहणको क्रममा यस्ता चरा देखेका सुनाए ।

लाक्पाले भने, ‘सन् २०२२ को वसन्त ऋतृमा तीन पटक मकालु आरोहण गर्ने क्रममा दुई वटा काग देखें । एउटा शिखरमाथि उडिरहेको थियो र अर्को शिखरभन्दा थोरै तल बसिरहेको थियो । त्यो उचाईमा पनि चरा पुग्न सक्दो रहेछ भनेर मलाई अचम्म लाग्यो । 

पंक्षीविद् कृष्ण भुसालका अनुसार नेपालमा पाइने पाँच प्रजातीका कागहरुमध्ये टुङ्गा र टेमु उच्च हिमाली क्षेत्रमा पान्छन् । आठ हजार २३५ मिटर उचाइमा टुङ्गा (रेड बिल्ड चौफ) र टेमु (एल्लो बिल्ड चौफ) जातका काग मात्र पुग्न सक्छन् । यी काग नेपालको पूर्वदेखि पश्चिमसम्मको उच्च हिमाल, हिमाली खर्क र खेतबारीमा पाइन्छन् । 

टुङ्गा मुख्यतया दुई हजार चार सय मिटरदेखि सात हजार ९५० मिटरसम्म र टेमु तीन हजार पाँच सय मिटरदेखि आठ हजार २३५ मिटरसम्मको उचाइमा पुगेको अभिलेख गरिएको भुषालले बताए । 

रुखो र सुख्खा जमिन भएका उच्च हिमाली भिर क्षेत्रमा समूहमा बस्ने यी दुवै प्रजातिको चराको मुख्य आहारा किरा, अन्नबाली, बेरी जस्ता स–साना हिमाली फलफूल, सिनोको टुक्रा रहेको उनले बताए । 

अर्का पंक्षीविद् टेक घर्तीमगरले यी प्रजातीका चरा वसन्त ऋतृमा धेरै देखिने गरेको बताए । जोडो याममा उचाइमा खानाको अभाव हुने हुँदा यी चरा तल झर्ने र गर्मी समयमा उच्च हिमाली क्षेत्रमा जाने बताउँदै घर्तीमगरले धेरैजसो टेमु र टुङ्गा जातका काग सँगै हुने बताए । 

उनले भने, ‘जब आरोहीहरु सगरमाथातर्फ लाग्छन् उनीहरु पनि सँगै माथि लाग्छन् । आरोहीले खेरफालेका खानेकुरा उनीहरुले खान्छन् । त्यस्तै मान्छेको मृत्यु भएको खण्डमा उनीहरुले शबलाई नै आफ्नो भोजन बनाउँछन् । आरोहीको सबै शरीर कपडाले ढाकिएको हुँदा कागले आँखाबाट शिकार सुरु गर्छ ।’ घर्तीमगरका अनुसार यी कागले सगरमाथा राष्ट्रिय निकुञ्जमा गुँड लगाउने र बच्चा कोरोल्ने गर्छ । 

यी प्रजातिका काग नेपालबाहेक अफगानिस्तान, अल्बानिया, एन्डोरा, आर्मेनिया, अस्ट्रिया, अजरबैजान, बेल्जियम, भुटान, बोस्निया हर्जगोभिना, बुल्गेरिया, चीन (मुख्य भूमि), क्रोएसिया, साइप्रस, चेक रिपब्लिक, फ्रान्स, जर्जिया, जर्मनी, ग्रीस, हंगेरी, भारत, इरान, इराक, इजरायल, इटाली, काजाकिस्तान, किर्गिजस्तानलगायतका मुलुकमा पनि पाइने गर्दछ । 

Advertisement

Advertisement