मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न हामीबाट व्यवधान हुन्नः मेलम्चीका मेयर

Advertisement

काठमाडौं । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताएका छन् । 

मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित जलवायुजन्य हानी तथा नोक्सानी र मेलम्ची बाढी विषयक नीतिगत छलफल कार्यक्रममा उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची—हेलम्बु क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन नगरेकोप्रति भने आपत्ति जनाए । 

Advertisement

मेलम्चीको दिगो व्यवस्थापन स्थानीय सरकार एक्लैले गर्न नसक्ने भन्दै तामाङले मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर सरकारले चासो नदेखाएको गुनासो गरे । 

मेलम्ची खानेपानी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै उनले आयोजनाले स्थानीयहरुले राहत पाउनुका साथै विकास निर्माणमा ठूलो टेवा पुगेको बताए । तामाङले स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत संघीय सरकारले सहयोग गर्नुपर्ने बताए । 

उनले भने, ‘मेलम्ची र हेलम्बुमा २०७८ साल असार १ गते बाढी पहिरो गयो, जसबाट ठूलो जनधनको क्षति हुन पुग्यो । त्यसको तथ्यांक हामीले अघि नै मेलम्ची नगरपालिकाको तर्फबाट जानकारी गराइसकेका छौँ । अब मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर हामी जानुपर्छ । मेलम्ची र हेलम्बुबारे सरकारको नीति के हो ? नीति तथा कार्यक्रममा आउन सकेन । सरकारको नीति तथा कार्यक्रममा हामीले हेर्यौँ, मेलम्चीको बारेमा खासै चासो देखाएको जस्तो लागेन । स्थानीय सरकारले पनि केही गर्नुपर्छ । मेलम्ची सबै व्यवस्थापन गर्न स्थानीय सरकारले सम्भव हुँदैन तर पनि अब केही दिगोपनको रुपमा नसके पनि अस्थायी रुपमा हामीले गरिरहेको अवस्था छ । जलवायु परिवर्तनको कारण बाढी पहिरो गएको हो भन्ने धेरै विज्ञहरुबाट कुरा आइसकेको छ । त्यसकारण खानेपानीलाई दोष दिन उचित हुँदैन । मेलम्ची खानेपानी अत्यन्त राष्ट्रिय गौरवको आयोजना हो ।’ 

विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिनेकुरामा जोड दिइन् । उनले मेलम्ची खानेपानि परियोजनाले कुनैपनि हानी नगरेको भए परियोजनालाई थप व्यवस्थित बनाएर लैजानुपर्ने बताइन् । 

पन्तले बाह्रै महिना काठमाडौंवासीलाई पानीको व्यवस्था भएको खण्डमा त्यसबापतको रोयल्टी मेलम्चीका नागरिकहरुले पाउने कुरामा ध्यान दिनुपर्ने बताए । 

Advertisement

Advertisement