‘अटोमेटिक रुट’बाट डेढ महिनामै ११ अर्बभन्दा बढी विदेशी लगानी स्वीकृत, कति बाहिरियो लाभांश ?

Advertisement

काठमाडौं । स्वचालित मार्ग (अटोमेटिक रुट) सञ्चालनमा आएको डेढ महिनामा ११ अर्ब १८ करोड ११ लाख ८० हजार रुपियाँ विदेशी लगानी स्वीकृत भएको छ । 

तेस्रो लगानी सम्मेलनको अवसरमा उद्योग बिभागले गत बैशाख १७ गतेबाट ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्गबाटै स्वीकृत गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको थियो । जेठ मसान्तसम्म आउँदा त्यस प्रणालीबाट सो बराबरको विदेशी लगानी स्वीकृत भएको हो । 

Advertisement

उद्योग बिभागबाट प्राप्त जेठ मसान्तसम्मको तथ्यांकअनुसार विभिन्न ९० परियोजनामा सो बराबरको विदेशी लगानी स्वीकृत भएको छ । जेठमा मात्रै उक्त प्रणालीबाट ६८ परियोजनामा आठ अर्ब २७ करोड ९० लाख रुपियाँ विदेशी लगानी स्वीकृत भएको छ । 

गत बैशाखमा भने यसबाट दुई अर्ब १५ करोड ८९ लाख ८० हजार रुपियाँ विदेशी लगानी स्वीकृत भएको थियो । यस्तै, जेठ महिनामा यो बाहेक थप तीन अर्ब एक करोड ५६ लाख रुपियाँ विदेशी लगानी स्वीकृत भएको छ । 

यो कागजी प्रक्रियाबाट स्वीकृत भएको लगानी हो । कागजी प्रक्रियाबाट बिभिन्न ५२ परियोजनामा सो बराबरको लगानी स्वीकृत भएको तथ्यांकमा उल्लेख छ । चालु आवको साउनदेखि जेठ महिनासम्म कागजी प्रक्रियाबाट कुल ४४ अर्ब ४० करोड आठ लाख २६ हजार विदेशी लगानी स्वीकृत भएको छ । कुल तीन सय ५९ वटा परियोजनामा सो बराबरको विदेशी लगानी स्वीकृत भएको हो । 

यस्तै, जेठ महिनामा शेयर पर्चेच एग्रिमेन्ट र शेयर सबस्क्रिसन एग्रिमेन्टबाट ४६ करोड १० लाख रुपियाँ विदेशी लगानी स्वीकृत गरिएको छ । बिभिन्न नौ परियोजनामा यस्तो लगानी स्वीकृत गरिएको हो ।चालु आर्थिक बर्ष २०८०–८१ को साउनदेखि जेठ मसान्तसम्म भने नौ अर्ब ५१ करोड ४५ लाख ६८ हजार रुपियाँ यस्तो लगानी स्वीकृत गरिएको छ । 

यी सबै माध्यमबाट चालु आवको जेठ महिनामा मात्रै ११ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । एक सय २९ परियोजनामा सो बराबरको विदेशी लगानी स्वीकृत भएको तथ्यांकमा उल्लेख छ । त्यसबाट दुई हजार ३२३ वटा रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । 

यी सबै माध्यमबाट चालु आवको ११ महिनामा भने ६५ अर्ब नौ करोड ६५ लाख ७४ हजार रुपियाँ विदेशी लगानी स्वीकृत भएको छ । कुल ५०१ परियोजनामा सो बराबरको विदेशी लगानी स्वीकृत भएको तथ्यांकमा उल्लेख छ । त्यसबाट २० हजार १४६ वटा रोजगारी सिर्जना हुने दावी गरिएको छ । यो उद्योग बिभागमा दर्ता भएको वैदेशिक लगानी प्रतिवद्धता मात्रै हो । लगानी बोर्डमा आउने प्रतिवद्धता यसमा समावेश छैन ।

रोयल्टीमार्फत कति बाहिरियो रकम ? 
नेपालमा लगानी गरेबापत समीक्षा अवधीमा विदेशी लगानीकर्ताले रोयल्टीबापत ठूलो रकम लगेका छन् । नेपाली रुपियाँमा मात्रै दुई अर्ब ५४ करोड ३४ लाख ५९ हजार रुपियाँ रोयल्टी बाहिरिएको छ । यसैगरि, अमेरिकी डलरमा थप एक करोड आठ लाख ७९ हजार ८६५ रोयल्टी बाहिरिएको छ भने भारतीय रुपियाँमा ७३ करोड सात लाख ९१ हजार रोयल्टी बाहिरिएको छ । युरोमा थप २३ हजार आठ सय रोयल्टी बाहिरिएको तथ्यांकमा उल्लेख छ ।

कति लगे लाभांश ? 
समीक्षा अवधीमा विदेशी लगानीकर्ताले नौ अर्ब ९७ करोड २८ लाख ९५ हजार रुपियाँ लाभांश लगेका छन् । जेठमा मात्रै ६८ करोड २३ लाख ७१ हजार ६०५ रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेको तथ्यांकमा उल्लेख छ । गत आवको यसै अवधीमा भने विदेशी लगानीकर्ताले १३ अर्ब ८२ करोड ५५ लाख रुपियाँ लाभांश लगेका थिए । त्यसको तुलनामा यसपाली विदेशी लगानीकर्ताले लैजाने लाभांश घटेको देखिन्छ ।

Advertisement

Advertisement