शेयरको पुँजीगत लाभकर १० प्रतिशत पुर्याउन उच्चस्तरीय सुझाव समितिको सिफारिस

Advertisement

काठमाडौं । शेयर लगानीकर्ताहरुले पुँजीगत लाभकरको दर घटाउनुपर्ने माग गर्दै आएको बेला एक उच्चस्तरीय सरकारी समितिले भने त्यसको दर बढाउनुपर्ने सुझाव सरकारलाई दिएको छ ।

२०८० भदौमा तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले नेपालको कर प्रणालीमा समसामयिक सुधार गर्न एक उच्चस्तरीय सुझाव समिति बनाएका थिए । पुर्व अर्थ सचिव विद्याधर मल्लिकको अध्यक्षतामा बनको कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले यस्तो सुझाव दिएको हो ।

Advertisement

उक्त समितिले गत फागुन २० गते नै सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अर्थ मन्त्रालयले यसै साता सार्वजनिक गरेको हो । 
हाल धितोपत्र खरीद बिक्री अर्थात् शेयर कारोबार गर्दा हुने खुद नाफामा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । 

शेयर किनेको ३६५ दिनपछि बिक्री गर्दा हुने नाफामा ५ प्रतिशत र ३६५ दिनभन्दा कम अवधीमा बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था छ । तर, उक्त समितिले पुँजीगत लाभकरको सीमा २.५ प्रतिशत विन्दुले बढाउन सुझाव दिएको छ । 

शेयर किनेको ३६५ दिनपछि बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको हितको निसर्गमा १० प्रतिशतको आयकरको दर कायम गर्नुपर्ने समितिको सुझाव छ । यो सुझाव कार्यान्वयनमा ल्याउन सरकारले आर्थिक ऐनमार्फत नै सम्बोधन गर्नुपर्छ । साथै, आयकर ऐन पनि संशोधन गर्नुपर्ने हुन्छ । तर, यसपालीको आर्थिक ऐनबाट यसलाई सम्बोधन गरिएको छैन् ।

Advertisement

Advertisement