अतिरिक्त सुविधाको माग सम्बोधन नभएसम्म संसद सचिवालयका कर्मचारीले आन्दोलन नरोक्ने

Advertisement

काठमाडौं । अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् । 

सोमवार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राजनीतिक दलका प्रमुख सचेतक, संसद सचिवालयका महासचिव, सचिवहरुलगायतसँग कर्मचारीहरुको आन्दोलनको सम्बन्धमा छलफल गरेका थिए । छलफलका क्रममा सरोकारवाला सबैले कर्मचारीहरुको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने बताएका थिए । 

Advertisement

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीहरुको न्यायोचित मागलाई पूरा गर्नुपर्ने साझा निष्कर्ष रहेको बताए । उनले कर्मचारीहरुको मागलाई सम्बोधन गर्नका लागि अर्थमन्त्रीसँग पनि छलफल गर्नुपर्ने भएकाले भोलि (मंगलवार) अर्थमन्त्रीसँग छलफल हुने जानकारी गराए । 

बर्तौलाले संसद सचिवालयलाई आवश्यक बजेट विनियोजन गर्न सरकारले कन्ज्युस्याइँ गर्नु नहुने पनि बताए । उनले बजेट अभावलाई देखाउँदै संसदीय समिति बैठकमा गैरसरकारी संस्थाले खाजा खुवाउने सम्मको घटना देखिएको भन्दै यस्तो हुनु दुःखद् भएको बताए । 

बर्तौलाले भने, ‘बैठकको एउटै निष्कर्ष के रह्यो भने कर्मचारी साथीहरुले उठाउनुभएको न्यायोचित मागहरु पूरा गर्नुपर्छ । मागहरु पूरा गर्नका लागि सरकारले आवश्यक बजेटको विनियोजन गर्नुपर्ने पनि अवस्था छ । आजभन्दा १५–१७ वर्ष अगाडी कतिपय ऐन, नियमावलीमा भएका व्यवस्थाहरु आजको दिनमा सान्दर्भिक छैन । सेवासँग, भत्तासँग । ती विषयमा पनि समयानुकुल गर्ने कुरालाई सरकार सकारात्मक हुनुपर्छ र हामी संसदभित्रका सबै संसदका पदाधिकारीहरु यो विषयमा न्यायोचित मागहरु पुरा गर्न हामी सकारात्मक छौँ ।’

उनले थपे, ‘अर्थमन्त्रीज्यूलाई यसको विषयमा भोलि नै उहाँहरुसँग संयुक्त रुपमा बैठक बस्ने र कर्मचारीहरुलाई आन्दोलनकै तहमा पुग्ने अवस्था नबनाउने । यो कुरामा गम्भीरताका साथ छलफल ग¥यौँ । अर्को कुरा संसदको समग्र काम, प्रक्रियाहरुमा पनि सरकारले आवश्यक बजेट विनियोजन नगर्दाखेरी कामहरु प्रभावित भए भन्ने गुनासोहरु पनि आइरहेको अवस्था छ । संसदको बैठक बिहान वा बेलुका अतिरिक्त समय वा सार्वजनिक बिदामा आयोजना गर्दा त्यसको लागि खाजासमेत एनजिओहरुले पठाउनुपर्ने परिस्थिति विकास भए भन्ने किसिमका हामीले ति घटनाहरु देख्यौँ । दुःखद घटना हुन् । यसले के देखाउँछ भने संसदको नियमित काम, प्रक्रियाहरुमा आवश्यक पर्ने बजेट व्यवस्थापन हुन नसक्दाखेरी यस खालका परिस्थितिहरु कतै विकास त भएका होइनन् ? यसतर्फ पनि समिक्षा गरेका छौँ ।’ 

संसद सचिवालयको आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्वासेले बैठकमा कुनै ठोस सहमति हुन नसकेको बताए । उनले आफूहरुले पाउने सेवा, सुविधालाई समयानुकुल बनाउनुपर्ने माग सम्बोधन नभए आन्दोलन जारी रहने पनि बताए । बेल्वासेले आफूहरुको आन्दोलन फिर्ता नभएको बताए । 

उनले आफूहरुसँग लिखित सहमति नभएसम्म कार्यालय समयभन्दा बढी काम नगर्ने बताए । 

Advertisement

Advertisement