केही निर्वाचन क्षेत्रमा बजेट खन्याएको भन्दै लिङदेनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । 

मङ्गलवार संसदमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै उनले बजेट पुस्तिका च्यातेका हुन् । लिङदेनले आफू कम आक्रोश पोख्ने मान्छे भएको तर मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताउँदै पुस्तिका च्यातेर हुर्याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहुर्याउने बताए । 

Advertisement

उनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेको बताए । नेता लिङदेनले लाज र घिन नराखिकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताउँदै भने, ‘सामान्यतया म आफूले आफैँलाई हेर्दाखेरी कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस पनि उठ्छ । कहिलेकाहीँ रिस पनि पोखिन्छ । तर एकछिन पछि सेलाउने, मन बुझाउने खालको मान्छेको रुपमा मैले आफूलाई ठान्छु । तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा पर्यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि, यो यसरी च्यातेर (पुस्तक च्यात्दै), यसरी हुर्याउने मन छ । (हुर्याउन खोज्दै) । तर यो संसदीय मर्यादा विपरित हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ राख्छु मैले । यो मेरो मात्रै मनको कुरा होइन ।’ 

उनले थपे, ‘अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्रदेखि बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरुको मनको कुरा हो । यसरी सामान्य लाज, घिन पनि नराखेर राज्य स्रोतमाथि यसप्रकारको मनपरी कति दिनसम्म मानिसहरुले सहेर बस्ने हो ? सामान्य लाज पनि नराख्ने । यो पढिने चिज हो । देखिने चिज हो । भन्ने कुरा पनि नराख्ने । यहाँ जिल्लाको नाम छापेर धेरै देखिन्छ भनेर जिल्लाको समेत नाम नराखी योजना राखिएको छ ।’ 

लिङदेनले २०६२–६३ अगाडी योजना छनौट प्रक्रिया हुन्थ्यो भने । त्यतिबेला बस्ती तहबाट वडा, वडाबाट गाविस, गाविसबाट इलाका हुँदै ८–९ चरण पार गरेपछि योजना छनौट हुन्थ्यो भन्दै अहिले त बजेट मन्त्रीको मुखबाट, गोजीबाट निस्कने चिर्कटोबाट आउँछ  भने 

लिङदेनले भने, ‘यो विषयमा हामीले छलफल गरिदिनुपर्ने । यो जुन काम मन्त्रीज्युहरुले गर्नुभएको छ लामो समयदेखि औँला ठड्याइरहेका छौँ त्यसलाई पुष्टि गर्छ । तपाइँहरुले बजेट बनाउने मौका पाउँदाखेरी जुन प्रकारको मनपरी गर्नुभयो, त्यसमा राजेन्द्र लिङदेनको कुनै आपत्ति छैन । राप्रपाको कुनै गुनासो छैन । एउटा जनताको प्रतिनिधिको हिसावले मात्रै यो आक्रोश पोखिराखेको छु । तपाइँहरुलाई धन्यवाद दिनुपर्छ । किनभने तपाइँहरुले यो व्यवस्था काम लाग्दैन भनेर, यो निर्वाचन प्रणाली, यो राज्य संरचना काम लाग्दैन भनेर पुष्टि गर्नुभएको छ । र यसलाई चाँडो भत्काउन तपाइँहरु आफैँ सहयोगी बन्नुभएको छ ।’

Advertisement

Advertisement