राजधानीकै पेट्रोल पम्पहरुले मान्दैनन् ‘डिजिटल पेमेन्ट’, काठमाडौं बाहिर झन समस्या

Advertisement

काठमाडौं । घट्टेकुलोका सुजल भण्डारी बुधबार बिहान स्कुटरमा पेट्रोल राख्न सेतोपुलस्थित मैतिदेवी पेट्रोलियम सप्लायर्स पुगे । उनी सरासर पम्प अगाडि गएर त्यहाँका कर्मचारीलाई फुल ट्याङ्क पेट्रोल गर्न लगाए । 

स्कुटरमा आठ सय रुपियाँको पेट्रोल अट्यो । त्यसपछि भण्डारीले पैसा तिर्न पैसा तिर्न क्यूआर मागे । तर पेट्रोलपम्पका कर्मचारीले मोवाइल बैंकिङ नभएको र नगद पैसा नै तिर्नुपर्ने शर्त अघि सारे । 

Advertisement

सेवाग्राहीले भने,, ‘यो पेट्रोल पम्पमा केही समय अघि मोवाइल बैंकिङबाट पैसा लिन्थ्यो । त्यसको लागि क्यूआर पनि टासेको थियो । त्यही भएर आज नसोधी पहिला पेट्रोल हालेर पैसा तिर्न खोजेको, मोवाइल बैंकिङ सेवा छैन भन्यो ।’

सुजल भण्डारीसँग गोजीमा नगद नभएका कारण नजिकै बस्ने एक साथीलाई बोलाएर पैसा तिरेर पम्पबाट निस्किनुअघि अर्का एक सेवाग्राहीले मोवाइल बैंकिङ सुविधा किन नराखेको ? भन्ने प्रश्नमा पम्पका कर्मचारीले पैसा भुक्तानी भएको नोटिफिकेसन नआउने गरेका कारण क्यूआर हटाएको जवाफ दिए । 
 
यो समस्या भण्डारीले मात्रै नभएर अरु काठमाडौंका केही पेट्रोल पम्पमा अझै भोग्दै आएको समस्या हो । यो समस्या उपत्यकाका पम्पमा खासै धेरै नभए पनि बाहिर भने निकै समस्या छ । काठमाडौं उपत्यका बाहिर अधिकांश पेट्रोल पम्पमा अझै पनि नगदबिना पेट्रोल भर्न पाइन्न । विशेषगरी राजमार्ग छेउका पम्पहरु मोवाइल बैंकिङबाट कारोबार गर्न नै रुचाउँदैनन् । 

यस प्रकारको समस्या हटाउन आफूहरुले प्रयास गरिरहेको नेपाल आयल निगमका सुचना अधिकारी मनोज ठाकुरले बताए । उनले भने, ‘यस्ता समस्याहरु हामीले सुनेका छौं । पैसा हाल्ने बित्तिकै नोटिफिकेसन नआउने लगायतका कारण यो समस्या निम्तिएको रहेछ । यसका लागि हामीले यही हप्ताभित्र वालेट कम्पनी तथा अन्य सेवा प्रदायकसँग कुरा गर्दैछौं ।’

देशमा डिजिटल कारोबारको विकास तथा प्रवद्धन गर्ने भन्दै २०७७ पुस १० देखि नेपाल राष्ट्र बैंकले अभियान चलाएको थियो । नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर क्युआर कोडमार्फत भुक्तानी गरी सुरुवात गरेका थिए । 

त्यसयता मोवाइल बैंकिङ, वालेट, क्यूआर लगायत डिजिटल पेमेन्टले रफ्तार लिए पनि कतिपय अत्यावश्यक सेवामा भने लागू हुन नसक्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । 

Advertisement

Advertisement