काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा उनले नेपालले आफ्नो कुटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशालि ११ राष्ट्रमा रहेका राजदूतहरु फिर्ता बोलाएको बताए । साउदले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कुटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए ।
उनले सत्ता गठबन्धनका बिचमा भागबण्डा गरेर राजदुत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदुत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए । साउदले नेपालको कुटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गरे ।
उनले भने, ‘सत्ता गठबन्धनका दलहरुले भागबण्डा गरेर राजदुत नियुक्ति गर्ने काम गरेका छन् । यसरी नियुक्ति गर्दाखेरी केही नियुक्त गरेका राजदूतहरुले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन । त्यसकारण एउटा मापदण्ड विहीन र स्वीकृति विहीन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिई हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ । केही नियुक्त भएका मान्छेहरुको कन्फ्लिक्ट अफ इन्ट्रेष्टका कुरा पनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ । केही राजनीतिक दलहरुले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजीओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रुपमा राजदुत चयन गर्दैछन् । दलहरुले विज्ञापन निकालेर । यसले नेपालको कुटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ ।’
साउदले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रुपमा भन्नुपर्ने बताए ।