काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको स्थापना दिवसको कार्यक्रममा शनिबार उनले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने बताए । राष्ट्र बैंकले आगामी आर्थिक बर्षका लागि नयाँ मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ ।
गभर्नर अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन हुने क्रम रोकिने बताए । उनले देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएको प्रति असहमति जनाउँदै देश संभावनाले भरिपूर्ण भएपनि केही साना–साना कुराहरुमा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएको बताए ।
राष्ट्र बैँकले ल्याउने मौद्रिक नीतिमा युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने उनले बताए । एक फरक प्रशंगमा गभर्नर अधिकारीले व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको भन्ने विषयमा सत्यता नरहेको बताए । उनले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा बाहिर आलोचना भएजस्तो दुरुपयोग नदेखिएको र केहि व्यक्तिबाट दुरुपयोग भएकोमा त्यसलाई असुली प्रक्रिया अगाडि बढाइसकेको बताए ।
सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान बाँडिएको गभर्नर अधिकारीले दावी गरे ।
उनले हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको बताए । गभर्नर अधिकारीले उद्यमशीलता विकास एवम् रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि बताए ।
पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको दावी छ । अधिकारीले विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि बताए ।