असारे खर्चको प्रभाव : बैकिङ प्रणालीमा ६४.३२ खर्ब पुग्यो निक्षेप, यो महिना मात्रै कति थपियो ?

Advertisement

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप ६४ खर्ब ३२ अर्ब ५० करोड रुपियाँ पुगेको छ  ।​ मंगलबारसम्म बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप ६४ खर्ब ३२ अर्ब ५० करोड रुपियाँ ​पुगेको हो । 

नेपाल राष्ट्र बैंकबाट कर्पोरेट नेपाललाई प्राप्त मंगलबारसम्मको तथ्यांकले यस्तो देखाएको हो । नेपाली बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप ६४ खर्ब रुपियाँमाथि पुगेको यो पहिलोपटक हो । समीक्षा अवधिमा बाणिज्य बैंकहरूमा मात्रै ५७ खर्ब चार अर्ब ९० करोड रुपियाँ निक्षेप जम्मा भएको छ । 

Advertisement

गत जेठ मसान्तसम्म बैंकिङ क्षेत्रमा ६२ खर्ब ५० अर्ब रुपियाँ हारहारीमा निक्षेप थियो । त्यो एक खर्ब ८२ अर्ब रुपियाँले बढेर नयाँ विन्दुमा पुगेको हो । 

आर्थिक वर्षको अन्तिम समय भएकाले असारमा सरकारी खर्च उच्च मात्रामा भइरहेको छ । असार मसान्तको दबाबमा सरकारले गत आइतबार २४ अर्ब २७ करोड ३८ लाख रुपियाँ र मंगलबार ३३ अर्ब ६१ करोड ३३ लाख रुपियाँसम्म खर्च गरेका थिए । त्यसभन्दा अघि पनि एकै दिन १४ अर्ब रुपियाँसम्म सरकारी खर्च भएको थियो । त्यसरी खर्च भएको पैसा सोझै बैंकिङ प्रणालीमा आउँछ । त्यसले गर्दा निक्षेप थुप्रिएको बैंकरहरू बताउँछन् । 

यसरी उच्च मात्रामा निक्षेप बढे पनि कर्जाको माग भने न्यून नै रहेको छ । हालसम्म बैंक तथा वित्तिय संस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब ५७ अर्ब ४० करोड रुपियाँ कायम भएको छ ।

त्यसमा वाणिज्य बैंकहरुले मात्रै ४५ खर्ब ६१ अर्ब ६० करोड रुपियाँ कर्जा प्रवाह गरेका छन् । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंकहरूमा कर्जाको माग बढ्न सकेको छैन ।
हाल बैंकको सीडी रेसियो ७८ प्रतिशत कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा प्रवाह गर्न सक्छन् । त्यसअनुसार बैंकहरुले अझै निक्षेपको १२ प्रतिशतबराबरको रकम ऋण प्रवाह गर्न सक्छन्, जुन रकम सात खर्ब ७२ करोड रुपियाँ हुन्छ ।

Advertisement

Advertisement