काठमाडौं । सरकारी बजेट पचाउन आर्थिक बर्षको अन्तिम समयमा कालोपत्रे गरिएको टेकु सडकमा ठूलो खाल्डो देखिएको छ ।
सडक विभागका अन्तरगत पर्ने त्रिपुरेश्वर–कालीमाटी सडक खण्डलाई असार पहिलो र दोस्रो साता रातारात कालोपत्रे गरिएको थियो । तर उक्त कालोपत्रे एक महिना नहुँदै केही ठाउँमा खाल्डो देखिन सुरु गरेको छ ।
त्यसमा पनि टेकु विन्दुमा एउटा ठूलो खाल्डो परेको छ जुन दुर्घटनाको जोखिम समेत बनेको छ । टेकु अस्पताल छिर्ने ठाउँ नजिक उक्त खाल्डो बनेको हो । खाल्डोले सवारी साधानको आवजजावतमा समेत कठिनाई भएको छ । कालोपत्रे उक्किएर ग्राभेल समेत सडकमा छरप्रस्ट भएको छ । उक्त खण्डमा कालोपत्रे गर्दा झरी भइरहेको थियो । त्यसले गर्दा पनि कालोपत्रे गुणस्तरीय नभएको कुनसक्ने स्थानीय बताउँछन् ।
यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । यही असारमा विभागले काठमाडौं उपत्यका भित्रका कालोपत्रे गरेका थुप्रै सडकमा खाल्डो देखिन थालेको छ । मुख्यतः असारे काम र खर्चले यस्तो समस्या देखिएको विज्ञहरु बताउँछन् ।
नेपालमा आर्थिक बर्ष साउनदेखि सुरु भएर असारमा सकिन्छ । असारभित्र चालु आवको बजेट खर्च गरिसक्नुपर्ने कानुनी व्यवस्था हुन्छ । सोहीअनुसार बजेट खर्च गर्ने नाममा अन्तिम समय कालोपत्रे गर्ने नयाँ नभएर पूरानो प्रवृत्ति हो । अन्य विकास निर्माण कार्यमा पनि त्यही प्रवृत्ति छ । यसरी विकास गर्दा ठेकेदारदेखि सरकारी कर्मचारी र नेताहरु समेत मालामाल हुने अवस्था बन्छ ।
आर्थिक बर्षको अन्तिममा आएर जब असारे बर्षा र झरी सुरु हुन्छ, तब मौसमको समेत प्रवाह नगरि जथाभावी र गुणस्तरहीन काम गरिन्छ र सरकारी भुक्तानी लिइन्छ । नेपालमा असार महिनामा मनसुन सुरु भइसकेका हुन्छ । मनसुनमा कालोपत्रे गर्दा गुणस्तर नहुने इञ्जीनियरहरु बताउँछन् । तर यो समस्या समाधान गर्न राजनीतिक तह, प्रशासन र निर्माण क्षेत्र तयार देखिन्न ।
पहिलो तस्बीर ः असार ८ गते राती टेकु सडक कालोपत्र गरिदैं
दोस्रो तस्वीर ः सोही सडक खण्डमा देखिएको एक खाल्डो