एकै दिन साढे १४ अर्ब उठे पनि समग्र राजश्व अशुली निकै निराशाजनक

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ सम्पन्न हुनु भन्दा एक दिनअघि अर्थात् आइतबार सरकारलाई १४ अर्ब ३७ करोड रुपियाँ राजश्व प्राप्त भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको असार ३० गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो । सामान्यत दैनिक तीनदेखि पाँच अर्ब रुपियाँ हारहारीमा राजश्व उठ्ने गर्छ । 

Advertisement

तर, पुस मसान्त र असार मसान्तको समयमा भने बढी राजश्व उठ्ने गर्छ । आर्थिक बर्ष सकिएको ६ महिनाभित्र कारोबार र नाफाको आधारमा कर तिर्नुपर्छ । यस्तै, असार मसान्तभित्र पनि भ्याट लगायतका शीर्षकमा करदाताहरुले कर तिर्ने गर्छन । 

गत शुक्रबार पाँच अर्ब १२ करोड १५ लाख रुपियाँ र शनिबार दुई अर्ब पाँच करोड ६३ लाख रुपियाँ राजश्व उठेको थियो । तर, आइतबार एकै दिन साढे १४ अर्ब हारहारीमा राजश्व उठेको हो । 

सोमबार चालु आवको अन्तिम दिन हो । आज कति राजश्व उठ्छ, त्यो भने हेर्न बाँकी छ । गत आवको दोस्रो अन्तिम दिन नौ अर्ब २८ करोड ४१ लाख र अन्तिम दिन ३६ अर्ब नौ करोड १४ लाख रुपियाँ राजश्व प्राप्त भएको थियो । 

आइबार कर राजश्व १४ अर्ब एक करोड ६८ लाख रुपियाँ र गैर कर राजश्व २४ करोड ६७ लाख रुपियाँ उठेको छ । यसैगरि अन्य शिर्षकमा ११ करोड ६१ लाख रुपियाँ राजश्व प्राप्त भएको छ । 

तर, लजास्पद देखियो सरकारी आम्दानी
आर्थिक बर्षको दोस्रो अन्तिम दिनसम्म आउँदा राजश्वका संकलन (सरकारको आम्दानी) लक्ष्यको तुलनामा निकै कम देखिएको छ । सरकारले चालु आवमा १४ खर्ब ७२ अर्ब रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, असार ३० गतेसम्म १० खर्ब ५६ अर्ब ६६ करोड ३९ लाख रुपियाँ राजश्व उठेको छ, यो लक्ष्यको ७१.७६ प्रतिशत मात्रै हो । 

कति पुग्यो खर्च ? 
असार ३० गतेसम्म सरकारको कल खर्च भने १४ खर्ब रुपियाँ भन्दा माथि पुगेको छ । तथ्यांकअनुसार आइतबारसम्म १४ खर्ब आठ अर्ब ९८ करोड रुपियाँ खर्च भएको छ । आइतबार एक दिन मात्रै ११ अर्ब ३४ करोड ६४ लाख रुपियाँ खर्च भएको छ । 

तथ्यांकअनुसार समिक्षा अवधीमा लक्ष्यको ८०.४५ प्रतिशत बजेट खर्च भएको छ । सरकाले चालु आवमा १७ खर्ब ५१ अर्ब रुपियाँ खर्च गर्ने लक्ष्य लिएको थियो । आइतबारसम्म त्यसको ८० प्रतिशत हारहारीमा खर्च भएको छ । आज अन्तिम दिन लक्ष्यअनुसारको खर्च हुने सम्भावना न्यून छ । 

समीक्षा अवधीमा नौ खर्ब ५२ अर्ब ६२ करोड २२ लाख रुपियाँ चालु खर्च भएको छ । यो लक्ष्यको ८०.४३ प्रतिशत हो । यो बर्ष चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपियाँ खर्च गर्ने सरकारको लक्ष्य थियो । 

यस्तै, पुँजीगततर्फ ६३.४७ प्रतिशत मात्रै खर्च भएको छ । चालु आवमा सरकारले तीन खर्ब दुई अर्ब रुपियाँ खर्च गर्ने लक्ष्य लिएको थियो । आइतबारसम्म एक खर्ब ९१ अर्ब ७३ करोड रुपियाँ पुँजीगत खर्च भएको छ । 

पुँजीगततर्फ आइतबार मात्रै सात अर्ब ८८ करोड ९६ लाख रुपियाँ खर्च भएको छ । यसैग्रि वित्तिय व्यवस्था तर्फ ८६.०७ प्रतिशत बजेट खर्च भएको छ । चालु आवमा सरकारले तीन खर्ब सात अर्ब रुपियाँ वित्तीय व्यवस्थातर्फको खर्च गर्ने लक्ष्य लिएको थियो । त्यसमा हालसम्म दुई खर्ब ६४ अर्ब ६३ करोड रुपियाँ खर्च भएको तथ्यांकमा उल्लेख छ ।
 

Advertisement