नेपालको पर्यटन प्रवर्द्धन गर्न १२ वर्षदेखि विश्व साइकल यात्रामा महर्जन, २२ देशको यात्रा पूरा

Advertisement

काठमाडौं । विगत १२ वर्षदेखि निरन्त।रुपमा विश्व साइकल यात्रा गरेर नेपालको पर्यटन प्रवर्द्धनमा जुटेका ज्ञान महर्जनले हालसम्म २२ देशको भ्रमण गरेका छन् । 

वर्ल्ड साइक्लिट क्लब नेपालका सल्लाकार समेत रहेका उनले एसियाका ११ र यूरोपका ११ देशको साइकल यात्रा पूरा गरेका हुन् । महर्जन थप देशमा यात्रा गर्ने तयारीमा छन् ।

Advertisement

‘म अहिले ओसिनियादेखि लिएर यूरोपका अरु देशमा यात्रा गर्ने तयारीमा छु’ उनले भने, ‘विश्व साइकल यात्रामार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नु मेरो उद्देश्य हो ।’ महर्जनले एसियाको जापान, कोरिया, चीन, हङकङ, थाइल्याण्ड, मलेशिया, बंगलादेश, भारत र यूरोपको स्वीडेन, डेनमार्क, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, स्वीजरल्याण्ड, फ्रान्स, लक्जमबर्गको यात्रा गरिसकेका छन् । 

नेपालबारे विदेशमा खासै प्रचारप्रसार हुन नसकेको उनले अनुभव सुनाए । महर्जनले भने, ‘नेपाललाई हामीले वास्तविकरुपमा विदेशी भूमिमा प्रचारप्रसार गर्न सकेका रहेनछौं ।’ नेपाललाई चिनाउनु नै आफ्नो साइकल यात्राको लक्ष्य हो भन्दै उनले यात्राका क्रममा भेटिने नेपालीहरुको आत्मियता र सहयोगी मनले गर्दा आनन्द आउने गरेको बताए । 

बाँकी विश्व साइकल यात्रा अब छिटै अष्ट्रेलियाको सिड्नीबाट सुरु गर्न लागेका महर्जनले अष्ट्रेलियाको पाँच शहरपछि न्युजिल्याण्ड र दक्षिणी युरोप ग्रिस, इटाली, स्पेन, पोर्चुगलको यात्रा गर्ने बताए । उनले थपे, ‘यो चाहिँ चुनौतीपूर्ण यात्रा नै छ । यसरी थोरै मात्र साइक्स्टि विश्व साइकल यात्रामा जानेगरेका छन् । 

शिक्षक पेशाको अनुभव संगालेका महर्जनले आफूलाई सामान्य काम गर्न पहिलेदेखि ध्यान नजाने गरेको बताउँछन् । उनले स्कुल कलेजमा पढाउँदा हरेक दिन एउटै दिनचर्या हुने, नयाँ अनुहार र नयाँ ठाउँ देख्न नपाइने भन्दै आफू ‘अपडेट हुनका लागि शिक्षण पेशा छोडेर विश्व साइकल यात्रामा निस्किएको बताए । 

‘हामी त्यो बेलामा ‘अपडेट’ हुन्छौं जुन बेलामा हामी नयाँँ ठाउँ, नयाँ अनुहारसँग साक्षातकार गछौं । त्यही कारणले पनि मलाई विश्व साइकल यात्रामा आकर्षित गर्यो’ महर्जनले भने । अहिलेको अभियान सकेपछि उनको योजना एक देशबाट अर्को देशमा कारभ्यान यात्रा गर्ने छ । यो यस्तो गाडी हो जहाँ सुत्नेदेखि शौचालयको समेत व्यवस्था हुन्छ । 

Advertisement