काठमाडौं । लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई शनिबार एक कार्यक्रमका बीच कर्पोरेट अवार्डद्धारा सम्मान गरेको छ ।
पुरस्कृत हुनेमा व्यवसायीसहित खेलाडी, कलाकार, धार्मिक अगुवा, सरकारी कर्मचारी, व्यवसायिक संस्था छन् । क्लबले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) निर्वाह गर्न खेलेको भूमिकाका आधारमा व्यवसायिक संस्था तथा व्यक्तिहरुलाई कर्पोरेट अवार्ड गरेको हो ।
जसमध्ये अन्तर्राष्ट्रियस्तरमा समेत खेलेर पदक हात पार्न सफल नेपालीकी चर्चित कराते खेलाडी एरिका गुरुङलाई सोसियल प्लेयर अवार्ड प्रदान गरियो । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका डीएभी स्कुल तथा कलेजका अध्यक्ष अनिल केडियालाई सोसियल एकाडेमिक अवार्ड, सीएसआरमार्फत विभिन्न गतिविधि गर्दै आएको व्यवसायिक समूह रमेश कर्पलाई सोसियल कर्पोरेट हाउस अवार्ड, सीएसआरमार्फत विभिन्न योगदान दिँदै आएको कम्पनी सूर्य नेपाललाई कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटि अवार्ड प्रदान गरियो ।
त्यस्तै, बौद्ध धर्मगुरु तथा लेखक स्यालपा तेन्जिन रिम्पोचेलाई सोसियल स्पिरिचुअल अवार्ड, व्यवसायी एवं नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललाई सोसियल कर्पोरेट लिडर अवार्ड, पूर्वसचिव चन्द्र घिमिरेले सोसियल व्युरोक्रेटिक अवार्ड, नायक राजेश हमाललाई सोसियल सेलेब्रेटी अवार्ड, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी एवं कोच विनोद दासलाई स्पोर्टस म्यानेजमेन्ट अवार्ड, कर्पोरेट सेक्टरमा जनशक्ति आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्दै आएका ग्रोथ सेलर नामक एचआर कम्पनीका प्रमुख मोहन ओझालाई सोसियल म्यानेजमेन्ट अवार्ड प्रदान गरियो ।
यी अवार्डहरुले सामुदायिक संलग्नतालाई बढावा दिन मद्दत गर्नुका साथै उत्कृष्ट अभ्यास अपनाउन प्रेरित गर्ने बताउँदै लायन्स क्लाब कर्पोरेट नेपालले सामाजिक विकासमा सक्रिय योगदान दिने कम्पनी तथा व्यक्तिहरुलाई पुरस्कृत गर्ने कार्यले क्लबको दृढतालाई प्रस्तुत गर्ने र भविश्यका व्यवसायिक नेताहरुलाई सामाजिक कार्यलाई प्राथमिकता दिन बताएको छ ।
नेपालमा सन् १९७१ देखि सक्रिय रहेको लायन्स क्लबको देशभर १५ जिल्लामा संगठन छ भने विश्वमा दुई हजारभन्दा बढी क्लब रहेका छन् । नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य सेवा, विपद् राहतमार्फत समाजको उत्थानमा भूमिका खेल्दै आएको छ । संकटको समयमा आपतकालिन राहत, ब्लड बैंक स्थापना, लायन्स क्लब इन्टरनेसनल फाउडेसनमार्फत परोपरकारी कार्यहरु गर्दै आएको क्लबले नेपालको जीवनको गुणस्तर बढाउन भूमिका खेल्दै आएको बताएको छ ।