माछापुच्छ्रेले कमायो एक अर्ब २५ करोड नाफा, प्रतिशेयर आम्दानीमा भने गिरावट

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले गएको आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो । 

बैंकले सोमबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा गिरावट आएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ६२ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

खुद ब्याज आम्दानी र गैरसञ्चालन आम्दानी घटेका कारण माछापुछ्रे बैंकको खुद नाफा घटेको हो । गत आवमा बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४.९३ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपियाँ ९ पैसा घटेर १० रुपियाँ ७६ पैसामा घटेको छ । गएको असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४८ रुपियाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ । 

समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४६ करोड ६४ लाख रुपियाँ रहेको छ। सञ्चित कोषमा पाँच अर्ब ६७ करोड रहेको माछापुछ्रेको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपियाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप २.४४ प्रतिशत बढेको छ भने कर्जा ०.७७ प्रतिशत मात्र बढेको छ । 

Advertisement