दश वाणिज्य बैंकले घटाए निष्क्रिय कर्जा, कुन बैंकमा कति छ ?

Advertisement

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपातमा सामान्य दरमा घटेको छ । गत चैत मसान्तसम्म बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात ३.६५ प्रतिशत थियो । असार मसान्तसम्म आउँदा त्यो ०.११ प्रतिशत विन्दुले घटेर ३.५४ प्रतिशतमा सीमित भएको छ ।

हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । उनीहरुले आजसम्म सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले यस्तो देखाएको हो । 

Advertisement

चैत तुलनामा निष्क्रिय कर्जा अनुपात घटेको देखिएपनि अघिल्लो आव २०७९–८० को तुलनामा भने बढेको नै देखिन्छ । २०८० असार मसान्तसम्म बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात तीन प्रतिशत थियो । त्यस अनुसार गत आवमा ०.५४ प्रतिशत विन्दुले बढेको देखिन्छ । तर, चैतको तुलनामा अन्तिम त्रैमासमा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात घटेको तथ्यांकले पुष्टी गरेको छ । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंकहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दो क्रममा थियो । गत आवको अन्तिम त्रैमासमा यस्तो अनुपात बढ्ने क्रम रोकिएको देखिन्छ ।

गत आवको चौथो त्रैमास र असार महिनामा बैंकहरुले कर्जा असुलीलाई बढी प्राथमिकतामा राखेका थिए । निष्क्रिय वर्गमा रहेको कतिपय कर्जाहरु असुल भएको पनि बताइन्छ । यसबीचमा राष्ट्र बैंकले कर्जा बर्गीकरण सम्बन्धमा बिभिन्न सहुलियत दिने नीति पनि ल्याएको थियो ।  असार महिनाको अन्तिम दुई दिनमा बैंकहरुले अस्वभाकि रुपमा अर्बौ रुपियाँ कर्जा प्रवाह गरेका थिए । त्यसको असरले चैतको तुलनामा निष्क्रिय कर्जा अनुपात घटेको बताइन्छ । 

औसतमा निष्क्रिय कर्जा अनुपात घटेपनि ८ बैंकको भने बढेको नै छ । दुई बैंकको भने निष्क्रिय कर्जा अनुपात स्थिर रहेको देखिन्छ । अन्तिम त्रैमासमा १० बैंकले आफ्नो निष्क्रिय कर्जा अनुपात घटाएको तथ्यांकमा देखिन्छ । 

अन्तिम त्रैमासमा नेपाल बैंकले आफ्नो निष्क्रिय कर्जा अनुपात १.५७ प्रतिशतले घटाएको छ । गत चैतसम्म उक्त बैंकमा ४.८५ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा थियो । असार मसान्त आउँदा त्यो  ३.२८ प्रतिशतमा सीमित भएको छ । २०८० असार मसान्तमा भने उक्त बैंकमा २.८५ प्रतिशत निष्क्रिय कर्जा थियो । 

यस्तै, लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा अनुपात ०.७७ प्रतिशतले घटेको छ । गत चैत मसान्तसम्म उक्त बैंकमा ५.४९ प्रतिशत निष्क्रिय कर्जा थियो । असार मसान्तसम्म आउँदा त्यो ४.७२ प्रतिशतमा सीमित भएको छ । २०८० असारसम्म भने उक्त बैंकमा २.९१ प्रतिशत निष्क्रीय कर्जा थियो । 

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले आफ्नो निष्क्रिय कर्जा अनुपात ०.६५ प्रतिशतले घटाएको छ । चैत मसान्तसम्म उक्त बैंकमा ४.३ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा थियो । असार मसान्तसम्म आउँदा ३.६५ प्रतिशतमा सीमित भएको तथ्यांकमा देखिन्छ । २०८० असारसम्म उक्त बैंकमा ३.७७ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा थियो । अघिल्लो आवको तुलनामा पनि यो बैंकले निष्क्रिय कर्जा अनुपात घटाएको देखिन्छ । 

यस्तै, गत आवको अन्तिम त्रैमासमा ग्लोबल आईएमई बैंकले पनि ०.३७ प्रतिशतले आफ्नो निष्क्रीय कर्जा घटाएको छ । गत चैत मसान्तसम्म ग्लोबल आईएमई बैंकमा ४.७४ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा थियो । असार मसान्तसम्म आउँदा ४.३७ प्रतिशतमा सीमित भएको छ । २०८० असारसम्म उक्त बैंकमा ३.१५ प्रतिशत निष्क्रिय कर्जा थियो । 

यस्तै, सिद्धार्थ बैंकले ०.३० प्रतिशतले निष्क्रिय कर्जा अनुपात घटाएको छ । गत चैतसम्म उक्त बैंकमा २.५२ प्रतिशत कर्जा थियो । असार मसान्तसम्म आउँदा २.२२ प्रतिशतमा सीमित भएको छ । २०८० असारसम्म भने उक्त बैंकमा २.०१ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा थियो । 

यस्तै, नबिल बैंकले पनि ०.१९ प्रतिशतले निष्क्रिय कर्जा अनुपात घटाएको छ । चैत मसान्तसम्म नबिल बैंकमा ४.०४ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा थियो । असार मसान्तसम्म आउँदा ३.८५ प्रतिशतमा सीमित भएको छ । २०८० असार मसान्तसम्म उक्त बैंकमा ३.३९ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा रहेको थियो । 

यसैगरी सानिमा बैंकको निष्क्रिय कर्जा ०.१६ प्रतिशत विन्दुले घटेको छ । चैत मसान्तसम्म उक्त बैंकमा १.८९ प्रतिशत निष्क्रीय कर्जा थियो । असारसम्म आउँदा त्यो १.७३ प्रतिशतमा सीमित भएको छ । २०८० असारमा भने उक्त बैंकमा १.३१ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा थियो । 

माछापुच्छ्रे बैंकले पनि ०.०५ प्रतिशतले निष्क्रिय कर्जा घटाएको छ । चैत मसान्तसम्म माछापुच्छ्रे बैंकमा ३.६८ प्रतिशतको अनुपातमा थियो । असार मसान्तसम्म आउँदा त्यो ३.६३ प्रतिशतमा सीमित भएको छ । २०८० असार मसान्तसम्म भने उक्त बैंकमा २.२६ प्रतिशतको अनुपातमा निष्क्रीय कर्जा थियो । 

यस्तै, हिमालयन बैंकले पनि ०.०५ प्रतिशतले नै निष्क्रिय कर्जा घर्टाको छ । गत चैत मसान्तमा त्यस बैंकमा ४.९६ प्रतिशत निष्क्रिय कर्जा थियो । असासम्म आउँदा त्यो ४.९१ प्रतिशतमा सिमित भएको छ । यस बैंकमा २०८० असार मसान्तसम्म भने ४.९३ प्रतिशत निष्क्रिय कर्जा थियो । त्यसको तुलनामा पनि यो बैंकले निष्क्रिय कर्जा अनुपात घटाएको देखिन्छ । 

प्रभु बैंकको निष्क्रिय कर्जा ०.०३ प्रतिशत विन्दुले घटेको छ । गत चैत मसान्तसम्म उक्त बैंकमा ४.८१ प्रतिशत थियो । असार मसान्तसम्म आउँदा त्यो ४.७८ प्रतिशतमा सीमित भएको छ । २०८० असार मसान्तसम्म भने उक्त बैंकमा ४.९८ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा  थियो । 

चैतको तुलनामा कुमारी र स्ट्यान्डर्ड चार्टड बैंकको निष्क्रिय कर्जा अनुपात स्थिर देखिएको छ । कुमारी बैंकको ४.९५ प्रतिशत र स्ट्यान्डर्ड चार्टड बैंकको २.१४ प्रतिशत निष्क्रीय कर्जा रहेको छ । 

यी बाहेक आठ बैंकको निष्क्रिय कर्जा अनुपात गत चैतको तुलनामा थप बढेको छ । चैतको तुलनामा एनएमबि बैंकको ०(४१ प्रतिशत, प्राइम कर्मशियल बैंकको ०.३८ प्रतिशत, एनआईसी एसिया बैंकको ०.३३ प्रतिशत विन्दु, सिटिजन्स बैंकको ०.३१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.२९ प्रतिशत, कृषि विकास बैंकको ०.१४ प्रतिशत, नेपाल एसबीआई बैंकको ०.०२ प्रतिशत र एभरेष्ट बैंकको ०.०१ प्रतिशतले निष्क्रिय कर्जा बढेको छ । 

असारसम्म आउँदा एनएमबि बैंकको ३.२७ प्रतिशत, प्राइम कर्मशियल बैंकको ४.६७ प्रतिशत, एनआईसी एसिया बैंकको ३.४१ प्रतिशत, सिटीजन्स बैंकको ४.०७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.९५ प्रतिशत, कृषि विकास बैंकको ३.४४ प्रतिशत, नेपाल एसबीआई बैंकको २ प्रतिशत र एभरेष्ट बैंकको ०.७१ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा रहेको छ । 

समीक्षा बर्षमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकमा सबै भन्दा बढी निष्क्रिय कर्जा देखिएको छ । उक्त दुवै बैंकमा ४.९५ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा छ । सबै भन्दा कम निष्क्रिय कर्जा भने एभरेष्ट बैंकमा देखिएको छ । उक्त बैंकमा ०.७१ प्रतिशत मात्रै निष्क्रिय कर्जा देखिएको छ ।

null

Advertisement