काठमाडौं । वाणिज्य बैंकहरुमा गत आर्थिक बर्ष २०८०–८१ को खुद नाफाबाट एभरेष्ट बैंकले सबै भन्दा धेरै लाभांश दिने सक्ने देखिएको छ ।
हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । तीमध्ये गत आवको नाफाबाट एभरेष्ट बैंकले शेयरधनीलाई प्रतिकित्ता २९.८६ प्रतिशत (रुपियाँ) लाभांश दिने देखिएको छ ।
वाणिज्य बैंकहरुले सोमबारसम्म सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार धेरै लाभांश दिनेमा दोस्रो नम्बरमा स्ट्याण्डर्ड चार्टड बैंक देखिएको छ । गत आवको नाफाबाट उक्त बैंकले २६.५ प्रतिशतको अनुपातमा लाभांश दिन सक्नेछ ।
तेस्रो नम्बरमा रहेको कृषि विकास बैंकले १७.३७ प्रतिशतको दरमा लाभांश दिनसक्नेछ भने नबिलले १४.२६ प्रतिशत, नेपाल एसबिआईले १०.७६ प्रतिशत, सानिमाले १०.४ प्रतिशत, प्राइम कर्मशियलले ६.१८ प्रतिशत, लक्ष्मी सनराइजले ५.५५ प्रतिशत, नेपाल बैंकले ५.२४ प्रतिशत, प्रभुले ५.२ प्रतिशत, सिटिजन्सले ४.३४ प्रतिशत, माछापुच्छ्रेले ४.०१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ३.७२ प्रतिशत, ग्लोबल आईएमईले ०.३ प्रतिशतको दरमा लाभांश दिन सक्ने छन् ।
चार बैंक भने लाभांश दिन नसक्ने अवस्थामा छन् । नेपाल इन्भेष्टमेन्ट मेगाको १०.०५ प्रतिशत, कुमारीको १४.४१ प्रतिशत, एनआईसी एसियाको १५.४५ प्रतिशत र हिमालयन बैंकको २६.२६ प्रतिशतले लाभांश क्षमता ऋणात्मक देखिएको छ । उनीहरुको वितरणयोग्य नाफा ऋणात्मक भएपछि लाभांश क्षमता पनि ऋणात्मक देखिएको हो ।
समग्रमा गत आवको मुनाफाबाट वाणिज्य बैंकहरुले औषतमा ४.२१ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।