काठमाडौं । आरक्षणको विरोधमा उत्रिएका बंगलादेशका जनताले प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् । प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छोडेर भागेसँगै उनीहरुले उनको सरकारी निवास कब्जा गरेका हुन् ।
प्रधानमन्त्री हसिना केही समय अगाडि हेलिकप्टर लिएर भारतमा शरण लिन पुगेकी थिइन् । सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए ।
आन्दोलन चर्किँदै जाँदा आइतबार भएको प्रदर्शनमा ९० जनाको ज्यान जानुका साथै सयौं घाइते भएका थिए । निरंकुश प्रधानमन्त्रीको रुपमा चिनिएकी शेख हसिनाको राजीनामा माग गर्दै आन्दोलन चर्किएको बेला हिंसात्मक आन्दोलनबाट ठूलो मानवीय क्षति भएपछि उनलाई सत्ता छोड्न दबाब परेको थियो ।
आन्दोलनकारी प्रधानमन्त्री निवास गणभवनभित्रै प्रवेश गरेका छन् । त्यहाँबाट टेबुल कुर्सीहरु बाहिर निकालेका छन् भने लुटपाट गरेको दृश्य समेत देखिएको छ ।