Advertisement

नेपाल राष्ट्र बैकले चालु आर्थिकका लागि गत साता मौद्रिक नीति ल्याएको छ । सरकारको वित्त नीतिलाई कार्यान्वयनमा सहयोग गर्नेगरी आउने यो नीतिले समग्र आर्थिक, व्यवसायिक र वित्तीय क्षेत्रलाई प्रभावित बनाउँछ । यस बर्षको मौद्रिक नीतिले पुँजी बजारदेखि निर्माण क्षेत्रमा नयाँ तरंग सिर्जना गरेको छ भने सुस्त रहेको देशको समग्र आर्थिक गतिविधिलाई बढाउने संकेत देखिएको छ । यद्यपि कतिपय क्षेत्रले भने आफूहरुलाई मौद्रिक नीतिले सम्बोधन नगरेको भन्दै असन्तुष्टि पनि जनाएका छन् । राष्ट्र बैंकले ‘सजगतापूर्ण लचिलो’ भनेको यस मौद्रिक नीतिका विविध पक्षबारे राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासँग गरिएको कुराकानीः 

राष्ट्र बैंकले गत साता मौद्रिक नीति ल्याएको छ । मौद्रिक नीति लचिलो ल्याएकैले शेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ । खास यो मौद्रिक नीतिको विशेषता चाहिँ के हो ? 
सर्वप्रथम त यो सजगतापूर्ण लचिलो मौद्रिक नीति हो । यसको मुख्य विशेषता भनेको अहिले अर्थतन्त्रमा भइरहेको शिथिलतालाई चिर्ने, कर्जा प्रवाहलाई सहज गराउने, आर्थिक गतिविधिलाई चलायनमान बनाउने हो । 

Advertisement

यो नीतिले शेयर बजारलाई, निर्माण क्षेत्रलाई, बैंकिङ क्षेत्रलाई खुशी नै बनाएको छ । घरजग्गा व्यवसायी, अटो व्यवसायी, पर्यटन व्यवसायी भने खुशी छैनन् । यो विभेद चाहिँ किन गनुएको ? 
राष्ट्र बैंकले कहिले पनि विभेद गर्दैन् । राष्ट्र बैंकले जुन क्षेत्रमा प्राथमिकता दिनुपर्ने देख्छ, आवश्यकता ठान्छ, त्यस क्षेत्रलाई प्राथमिकता दिएर मौद्रिक नीति बनाउने हो । हुन त मौद्रिक नीतिको मुख्य उद्देश्य भनेको मूल्य स्थायित्व, वित्तीय क्षेत्र स्थायित्व, बाह्य क्षेत्र स्थायित्व र समष्टिगत आर्थिक विकासमा सघाउ पुर्याउने हो । त्यही क्रममा अर्थतन्त्रका सरोकारवालालाई विभिन्न प्रोत्साहन पनि दिने हो । त्यही क्रममा अहिलेको मौद्रिक नीति आएको हो भन्न सकिन्छ । 

जुन अहिले शेयर बजारका लागि प्रोत्साहन दिनुभयो, घरजग्गा र अटो व्यवसायलाई दिनुभएन भन्ने कुरा गर्नुभयो । अटो व्यवसायलाई पनि आर्थिक बर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैयमासिक समीक्षामा र पहिलो त्रैमासिक समीक्षामा नै घरजग्गा व्यवसायलाई केही प्राथमिकता दिएर प्रोत्साहन दिइसकेको हो । अहिले शेयरलाई दिइयो । त्यतिबेला के गरिएको थियो भने घरजग्गाको ऋण आम्दानी अनुपातलाई बढाएर ७० प्रतिशत पुर्याइएको थियो । अटो व्यवसायीहरुको पनि जोखिमभार घटाएर एक सय प्रतिशतमा झारिसकेको अवस्था हो । अहिले शेयर बजारको हकमा संस्थागत लगानीकर्ताको २० करोडको सीमा हटाइएको छ । अहिलेको अवस्थामा पुँजीबजारलाई प्राथमिकता दिएको अवस्था हो । 

अहिले देशको विषम आर्थिक अवस्थाले गर्दा कर्जा विस्तार हुन सकेको छैन् । बैंकमा पैसा थुप्रिएको अवस्था छ । यो अवस्थामा तपाईहरुले कर्जा विस्तारलाई दोब्बरभन्दा धेरै बनाउने लक्ष्य लिनुभएको छ । यो आमुल परिवर्तन संभव होला ? 
सरकारको भर्खरै मात्रै आएको बजेटले पनि आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत र मुद्रास्फीति ५.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकमा कर्जा प्रवाहको लक्ष्य राख्दा, जुन मोनिटरी सर्भेमा पनि राखिन्छ, त्यो वृद्धिदर र मुद्रास्फीतिको अनुमानको आधारमा कर्जा प्रवाहको लक्ष्य निर्धारण हुने गर्दछ । त्यही सर्भेमा आधारमा केही थपघट गरेर कर्जा प्रवाहको लक्ष्य निर्धारण हुने गर्छ । त्यही आधारमा अहिले १२.५ प्रतिशत निर्धारण गरिएको छ । त्यसलाई स्वाभाविक मान्न सकिन्छ, अर्थतन्त्रको आवश्यकता हेर्दा । हुँदैहुँदेन भनेर लक्ष्य नै कम राख्ने कुरा पनि हुँदैन । त्यो गर्ने कुरामा बैकहरुले कसरी गर्लान त ? भन्दा बैंकहरुमा पनि पुँजी दबाब परिरहेको छ । कर्जा प्रवाह पुँजीमै आधारित हुन्छ । पुँजी दबाबमा सहजता ल्याउन राष्ट्र बैंकले विभिन्न उपायहरु पनि गरेको छ । अर्कोतर्फ उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि पनि मौद्रिक नीतिमार्फत गरिएको छ । यतिसम्म कर्जा प्रवाह गर्नुपर्छ, यतिसम्म कर्जा प्रवाह गरियो भने आर्थिक वृद्धि हाँसिल गर्न सकिन्छ भनेर राखिएको लक्ष्य हो नि त त्यो । 

थप कुराकानी भिडियोमा–
 

Advertisement