काठमाडौं । आरक्षणको विवादमा सुरु भएको युवाहरुको विद्रोहले उग्ररुप लिएसँगै देश छोडेर प्रधानमन्त्री भाग्न बाध्य भएपछि बंगलादेशको सत्ता सेनाले जिम्मा लिएको छ ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर बहिनीसँगै हेलिकप्टरमार्फत भारतमा शरण लिन पुगेपछि बंगलादेशको सत्ता सेनाले सम्हालेको हो । बंगलादेशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् ।
प्रधानसेनापति वकर उज्जामनले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट पनि गरेका छन् । उनले राजनीतिक समस्याको निकास निकाल्ने पनि बताएका छन् । यद्यपि सरकारको नेतृत्व कस्ले गर्ने ? अहिलेसम्म खुलेको छैन् ।
हसिना देश छोडेर भागेपछि राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेका छन् । यता हसिनाको विमान सोमबार साँझ नयाँ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको छ । उनी त्यहाँबाट लन्डन जानसक्ने अनुमान गरिएको छ । रोएटर्सले सैनिक हेलिकप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ ।
सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए । प्रदर्शन सुरु भएपछि तीन सयभन्दा धेरेको मृत्यु भएको छ । आइतबार मात्रै ९० जनाभन्दा बढीको ज्यान गएको समाचार छ ।
टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ । केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ । केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ । प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन् ।