मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो, मैले गरेको छैनः प्रम ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको जिकिर गरेका छन् । मंगलवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनै पनि खालको अनुमति नदिएको जिकिर पनि गरे । 

आफूमाथि राजनीतिक रुपमा कुनै लाञ्छना लगाउने काम भएपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताउँदै ओलीले आफ्नो जानकारीमा रहेका ठाउँहरुमा आफूले भ्रष्टाचार गर्न नदिने पनि बताए । 

Advertisement

उनले भने, ‘मैले पहिले पनि जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिन, भ्रष्टाचार सहिन पनि । अब मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक हिसावले कसैले लाञ्छना लगाउनु, लाञ्छित गर्नका लागि केही कुरा उठाउनु, हिलो छयाप्ने प्रयास गर्नु बेग्लै कुरा हो । म दावाका साथ भन्छु– यो धर्तीको अदालतमा मात्रै होइन कि चित्र गुप्ताका अगाडि पनि जवाफ दिन तयार छु र म जवाफ दिन चाहन्छु । मलाई आर्जन गर्नुछैन । धन आर्जन गर्नुछैन । र राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउनु छैन । त्यो मेरो नैतिकता पनि दिँदैन । र, मलाई आवश्यक पनि छैन । त्यो मेरो सोच पनि होइन ।’ 

ओलीले थपे, ‘म माननीयजीहरुलाई ढुक्क रहन, अब कहाँ के सामाजिक सञ्जालमा कसले गाली गर्यो, त्यो बेग्लै कुरा होला । कसैले कुनै लेख लेख्यो होला । कसैलाई के कारणले रिस उठछ, त्यो पनि थाहा छैन । म यहाँहरुका अगाडि यो गरिमामय समितिका अगाडि, समितिका सभापति र सदस्यहरुका अगाडि भन्न चाहन्छु– मैले भ्रष्टाचार गरिन र गर्न कसैलाई इजाजत पनि दिएको छैन । अब कहिले कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारी भन्दा बाहिर अरुले गरेका कुरा रोक्न नसकेको होला । तर गर्न दिएको होइन । म स्पष्ट गर्न चाहन्छु । फेरि पनि मेरो दृढ प्रतिवद्धता छ–म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न जोकोही होस् ।’

प्रधानमन्त्री ओलीले विधेयकहरु छिटो पारित गर्न पनि संसद र संसदीय समितिहरुलाई आग्रह गरे । 

Advertisement