काठमाडौं । नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा चालकको कमजोरीले गर्दा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक प्रतिक्रिया दिए । यद्यपि त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानविन समितिले दिने अधिकारीको भनाई छ ।
सिभिल एभिएशनको ‘भिजियोल फ्लाइट रुट’ (भीएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उनको दाबी छ । महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरित हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे ।
उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुने बित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजि गर्यौं । जबसम्म हामी क्र्यास साइट आईडेन्टीफाई भएन्, तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउने बित्तिकै हेलिकप्टर खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो ।’
अधिकारीले थपे, ‘सरकारले यो दुर्घटना छानविन आयोग गठन गरिसकेको अवस्थामा यसको रुट कज के हो ? भन्ने बारेमा पनि म धेरै जान चाहन्न । आज बिहान हामीले माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साईट पनि हेर्यौं । यसको रुट कज चाहिँ सरसर्ती हेर्दाखेरी, यद्यपि यो छानविन आयोगले नै बताउला, ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ । यो पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाइट रुट अनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित हो । यो कानूनले वर्जित गरेको विषय हो । यो रुट कज भनेको चाँही भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला ।’
बुधवार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो ।