सिग्देलले सम्हाले प्रधान सेनापतिको कार्यभार

Advertisement

काठमाडौँ । प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् ।  

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् । 

Advertisement

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् । 

प्रधान सेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन् । 

कार्यभार बुझबुझारथ समारोहमा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रुपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएको भनी खुसी व्यक्त गरे । त्यस अवसरमा पूर्वप्रधान सेनापतिहरु, रक्षा मन्त्रालयका सचिव, रथीवृन्दलगायतको उपस्थिति थियो ।

प्रधान सेनापति शर्माले आजै वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक छाउनी र सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलीसमेत अर्पण गर्नुभएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Advertisement