काठमाडौं । अटोमोवाइल व्यवसायी कैलाशबाबु गेलालले नेपालमा स्काईवेल ब्राण्डको विद्युतीय गाडी (ईभी)को आधिकारिक बिक्रेता जि मोटर्स प्रा.लि. मात्रै रहेको बताएका छन् ।
कर्पोरेट नेपालसँगको कुराकानीमा उनीहरुले केही व्यक्तिले आफूहरु पनि उक्त ब्राण्डको बिक्रेता भन्दै षडयन्त्रमूलक ढंगले गलत प्रचार गर्ने र आम उपभोक्तामा भ्रम छर्ने प्रयास गरेको भन्दै यस्ता भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।
एलआरआर मोटर्सले पनि स्काईवेलको हङकङको डिलरमार्फत सब–डिलर लिएर आफू पनि यस ब्राण्डको बिक्रेता दावी गरेपछि यो विषय सतहमा आएको हो । एलआरआरको उक्त दावीविरुद्ध व्यवसायी गेलाल अदालत गएका छन् । उनले उच्च अदालत पाटनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायतलाई विपक्षी बनाई मुद्दा दायर गरेका हुन् ।
गेलाल भन्छन, ‘जि मोटर्स स्काईवेल ब्रान्डका गाडिहरुको नेपालमा एक मात्र आधिकारिक वितरक हो । एलआरआरले हङकङको कुनै एजेन्टसँग सम्झौता गरेको रहेछ । यसमा वाणिज्य विभागको पनि मिलेमतो देखिन्छ । यो विषयमा चीनको स्काईवेल कम्पनीले पनि सम्वन्धित पक्षहरुलाई सूचित गरिसकेको छ ।’
उनले थपे, ‘वाणिज्य विभागले मिलेमतोमा गैरकानुनी काम गरेको हुनाले विभाग र एलआरआर विरुद्ध हामीले पाटन उच्च अदालतमा रिट दायर गरिसकेका छौं, ।’
गेलालले गाडीको मूल्यका सम्वन्धमा पनि भ्रम फैलाउने काम भएको भन्दै यमसा ठूलो षडयन्त्र रहेको बताए । उनले यस्तो भ्रम फैलाउनेहरु चाँडै नै उदाङ्ग हुने भन्दै आफूहरुले नेपालको प्रचलित कानुन र व्यवसायिक आचरणभन्दा बाहिर गएर काम नगरेको र नगर्ने बताए । व्यवसायी गेलालले दर्ता गरेको मुद्दामा भदौ ५ गतेलाई पेशी तोकिएको छ ।