ट्रंकलाइनको महशुलको नाममा अब लाइन नकाट्ने घोषणा
ट्रंकलाइनको महशुलको नाममा अब लाइन नकाट्ने घोषणा
काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले अब डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादको नाममा उद्योगहरुको लाइन कहिल्यै पनि नकाटिने घोषण गरेका छन् ।
शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघको कार्यक्रममा उनले डेडिकेटेड तथा टंकलाइनको महशुल विवादका नाममा अब उद्योगहरुमा लाइन काट्न काम नहुने आश्वासन दिँदै ढुक्क भएर उद्योग सञ्चालन गर्न आग्रह गरे ।
साथै, भण्डारीले आफूहरु अँध्यारोमा बसेर भए पनि उद्योगहरुलाई पूरै समय विद्युत दिने पनि बताए । उनले भने, ‘बरु हामी अँध्यारोमा बसौंला । पहिलो प्राथमिकता उद्योग हो । उत्पादन हो । रोजगारी हो । त्यसकारण सरकार यस कुरामा अत्यन्तै गम्भीरताका साथ लागिरहेको छ ।’
पहिला विद्युतको आन्तरिक माग पूर्ति गरेर मात्रै निर्यात गर्ने बताउँदै भण्डारीले उद्योगहरुलाई लोडसेडिङ गरेर बिजुली निर्यात गर्ने नीति नरहेको बताए । उनले उद्योगहरुलाई सहुलियत र सुविधा प्रदान गर्ने अहिलेको सरकारको नीति रहेको बताउँदै सरकारले सेवा र सहुलियत प्रदान गर्ने गर्ने पहिलो कुरा भनेको विद्युत सडकलगायतका कुरा हो भने ।